पेरिसडाँडामा प्रचण्ड र बाबुरामसँग कसरी कड्किए नारायणकाजी ?

काठमाण्डु टुडे २०७१ पुष १३ गते १४:२५ मा प्रकाशित

NARAYAN KAJI 2काठमाण्डु, १३ पुस– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूमाथि पार्टीभित्रैबाट जनयुद्ध नलडेको र आन्दोनलबाट भागेको भन्नेजस्ता आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा उनले पार्टीका नेता कार्यकर्तालाई जनयुद्ध लडेको र नलडेको कित्तामा वर्गीकरण नगर्न आग्रह गरे ।
पुष्पलाललाई गद्धार र निर्मल लामालाई सिआईडी देख्ने पूर्वाग्रही आँखाले आफूलाई पनि जनयुद्धबाट भागेको देखेको टिप्पणी उनको थियो ।

आफू एकता केन्द्र–मसालमै छँदा एकाथरिले प्रचण्डलाई दरबारिया र अर्काथरिले बाबुरामलाई भारतीय दलाल भनेको चर्चा गर्दै त्यही प्रवृत्तिले आफूमाथि जनयुद्धबाट भागेको आरोप लगाएको उल्लेख गरे ।

‘हिजो पुष्पलाललाई गद्धार, निर्मल लामालाई सआईडी, प्रचण्डलाई दरबारिया र बाबुरामलाई भारतीय एजेण्ट देख्नेहरुले आज मलाई जनयुद्धविरोधी देखेका छन्’, उनले भने, ‘यो कम्युनिष्ट आन्दोलनको खराब स्कुलिङको प्रभाव हो, यसलाई नसच्याउने हो भने हामी अगाडि बढ्न सकिँदैन ।’

श्रेष्ठले नेतृत्व हस्तान्तराण सम्बन्धमा प्रचण्ड–बाबुरामबीच भएको भनिएको सहमतिप्रति चर्को विरोध जनाए । महाधिवेशनमा विचार र कार्यदिशाको बहस हुनुपर्नेमा लेनदेनको थलो बनाएको भन्दै आपत्ति जनाए । उनले विचार र नेतृत्वमा पहिल्यै सहमति गरेपछि महाधिवेशन गर्नुको औचित्य नहुने बताए ।

‘प्रचण्डले नेतृत्व छाड्ने र बाबुरामले लिने भएपछि छोड्नेलाई छोड्नै हुँदैना र र लिनेलाई लिनै हुन्न म भन्दिन’, श्रेष्ठले भने, ‘यसले महाधिवेशनमा विचारको संश्लेषण गने कामलाई कमजोर पारेको छ ।’

उनले नेतृत्व निर्माण गर्ने काम समग्र पार्टी कार्यकर्ताको भए पनि एक दुईजना व्यक्तिको लेनदेनको विषय बनाइएको भन्दै असन्तुष्टि जनाए । यस्तो कार्यशैलीले नेतृत्व प्रणालीबारेको वैचारिक विकास नै कमजोर पार्ने उनको भनाइ थियो ।

श्रेष्ठले अध्यक्ष प्रचण्ड, नेता भट्टराई र आफूबीच पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा सहमति भए पनि विश्वासको संकट रहेको खुलासा गरे ।

‘हामी पार्टीलाई एकताबद्ध गरेर जाने कुरामा सहमत छौं’, श्रेष्ठले भने, ‘तर हामी तीनजना बीचमा विश्वासको संकटछ, एक अर्काले आफूलाई उपयोग गरिरहेको छ कि भन्ने आशंका छ ।’

श्रेष्ठले आगामी महाधिवेशनले विश्व परिस्थितिमा आएको फेरबदलको वस्तुनिष्ठ विश्लेषण गरी प्रतिक्रान्ति रोक्न सक्ने गरी माक्र्सवादको विकासका लागि २१ औं शताब्दीकोे कम्युनिष्ट घोषणपत्र तयार पार्नुपर्नेमा जोड दिए । त्यसका लागि अहिल्यैदेखि काम थाल्नुपर्ने उनको भनाइ थियो ।

श्रेष्ठले विगतमा पार्टीमा वैचारिक र व्यवहारिक रुपमा स्खलन आएको नष्कर्षसहित रुपान्तरण अभियान थाल्ने निर्णय भए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

पार्टीको वर्ग दृष्टिकोण भुत्ते भएको, वर्ग निष्ठा कमजोर भएको र वर्ग चरित्रमा स्खलन आएको चर्चा गर्दै उनले तलदेखि ठूलै वैचारिक, राजनीतक र सांस्कृतिक आन्दोलनबिना पार्टीलाई रुपान्तरण गरेर क्रान्तिकारी बनाउन नसकिने श्रेष्ठको ठम्याई छ ।

‘पार्टीभित्र बढेको भ्रष्टीकरण र प्रदूषण नसच्याई क्रान्तिकारी संश्लेषण गर्न सकिंदैन’, उनले भने, ‘भ्रष्ट पार्टीको नेतृत्वमा जो आए पनि केही फरक पर्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us