गोरखा, २९ मंसिर–अहिले सहरका उपभोक्ताले १२ घन्टा विद्युत्भार कटौतीको मार खेपिरहेका छन् । तर गोरखाको लापु गाविसका गाउँमा दिनभर बिजुली बल्छ ।
गाउँमा सञ्चालित तीन लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आवश्यकताभन्दा धेरै भएपछि दिनभर बाल्ने गरेको स्थानीयवासी बताउँछन् ।
लापु गाविसस्थित नौलीखोलाको विभिन्न तीन ठाउँमा लघुजलविद्युत् आयोजना सञ्चालन भएपछि गाउँमा बिजुली फालाफाल भएको हो । हाल त्यहाँ नौली खोला लघुजलविद्युत् आयोजना पहिलो, नौली खोला लघुजलविद्युत आयोजना दोस्रो र नौलीखोला लघु जलविद्युत् आयोजना तेस्रो सञ्चालनमा छन् ।
तीनै आयोजना सँगसँगै सम्पन्न भएका हुन् । तीन आयोजनाबाट ५६ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । सो बिजुली स्थानीय चारसय घरधुरीका लागि आवश्यकताभन्दा धेरै भएपछि बिजुली दिनभर बाल्ने गरेको स्थानीय बासिन्दा वीरु गुरुङले जानकारी दिए ।
नौलीखोला लघुजलविद्युत् आयोजना पहिलोबाट १० किलोवाट क्षमताको विद्युत् उत्पादन हुन्छ । सो आयोजना रु ४५ लाखमा निर्माण सम्पन्न भएको हो । त्यहाँबाट उत्पादन भएको विजुली लापु गाविस–२, ५ र ९ का ८४ घरधुरीले उपभोग गर्छन् । त्यस्तै नौलीखोला लघुजलविद्युत आयोजना दोस्रोबाट १६ किलोवाट क्षमताको विद्युत उत्पादन हुन्छ । रु ७२ लाखको लागतमा निर्माण भएको सो बिजुली लापु ६, ७ र ८ का १४६ घरधुरीका उपभोक्ताले उपभोग गर्छन् ।
नौलीखोला लघुजलविद्युत् आयोजना तेस्रो आयोजनाबाट ३० किलोवाट क्षमताको बिजुली उत्पादन हुने गर्छ । सो आयोजना एक करोडको लगानीमा निर्माण भएको हो ।
आयोजना जिल्ला विकास समितिमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ग्रामीण ऊर्जा विकास कार्यक्रम र हिमाली क्षेत्र विकास केन्द्रले सञ्चालन गरेका हुन् । रासस