शौचालय जाँदा मोटरसाइकल

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते २:५७ मा प्रकाशित

झापा, २९ मंसिर– २० हजार जनसंख्या भएको गाविसमा एक हजार पाँच सय पनि शौचालय छैनन्भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । अझ घरमा शौचालय नबनाउने तर शौच गर्न मोटरसाइकल चढेर खुला ठाउमा पुग्ने कुरा त झन् पत्यार लाग्दो हुने नै भएन । तर, झापाको राजगढमा यस्तै हुँदै आएको छ ।

तीन हजार दुई घरधुरी भएको राजगढ गाविसमा एक हजार पाँच पनि शौचालय नभएको गाविसको तथ्यांकमा उल्लेख छ । सन् २०१६ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य भए पनि चेतना अभावका कारण राजगढलगायत अधिकांश गाविसमा यस्तो समस्या अझै ज्युँका त्युँ रहेको छ । ‘आदिवासी समुदायको बाहुल्यता रहेको राजगढ गाविसमा बसोबास गर्ने अधिकांशले शौचालय प्रयोग गर्दैनन्’, गाविस सचिव तेजप्रसाद रेग्मीले भने ।

गाविसले खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि गाउँस्तरीय वातावरण सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेर कार्यक्रम अघि बढाए पनि पूर्ण रुपमा सो कार्यक्रम प्रभावकारी बन्न नसकेको सचिव रेग्मीको भनाइ छ । आर्थिक विपन्नता भएका मानिसको घरमा शौचालय भए पनि हुनेखानेका घरमा शौचालय नभएको सचिव रेग्मी बताए ।

‘विशेषगरी राजगढको २, ७, ४ र ९ नं वडाका अधिकांश स्थानीयवासीले शौचालय प्रयोग गर्दैनन्’,स्थानीयवासी जगदीश घिमिरेले भने, ‘राजवंशी समुदायका मानिसले शौचालय प्रयोग गर्दैनन् बरु शौचालय जाँदा उनीहरु मोटरसाइकल प्रयोग गर्छन् ।’ घिमिरेका अनुसार विरिङ, घाग्रा, अन्धुवालगायतका खोलासम्म बिहानै मोटरसाइकल लिएर शौचालय जाने गरेका उनीहरुले आर्थिक अभावले शौचालय नबनाएका होइनन् ।

छ महिनाअगाडि नै गाविस सचिवको अध्यक्षतामा खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि गाउँस्तरीय वातावरण सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेर खुल्ला दिसामुक्त गाविस घोषणाका लागि तयारीमा गाविस जुटे पनि चेतना अभावले राजगढका सर्वसाधारणले शौचालय नबनाउँदा समस्या उत्पन्न भएको सचिव रेग्मी बताछन् ।

झापामा रहेका सात नगरपालिका र ३७ गाविसमध्ये दुवगाढी तथा शरणमती गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us