काठमाण्डु – प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूति र्मन्त्री सुनीलबहादुर थापालाई पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्यापक गिरावट आउँदा पनि नेपालमा भने केही रुपैयाँ मात्र घटेको भन्दै प्रधानमन्त्रीले तत्काल भाउ घटाउन निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाले आइतबार बालुवाटार बोलाएर अन्तर्राष्ट्रिय बजारमा व्यापक घटिरहेका बेला नेपालमा भने तेलको मूल्य केही रुपैयाँ घटाइएको भन्दै मन्त्री थापाप्रति आक्रोश पोखेका थिए ।
स्वचालित मूल्यप्रणाली लागू भएयता आयल निगमले हरेक दुई सातामा गरी पाँचपटक मूल्य घटाइसकेको छ । तर एकपटकमा बढीमा दुई रुपैयाँभन्दा बढी घटेको रेकर्ड छैन ।
निगम हाल मासिक ५१ करोड २३ लाख रुपैयाँ नाफामा छ ।