घाँस काट्न गएकी महिला मृत फेला
काठमाण्डु टुडे
२०७१ मंसिर २६ गते १०:५० मा प्रकाशित
खोटाङ, २६ मंसिर– घाँस काट्न गएकी खोटाङकी एक महिला मृत फेला परेकी छन् ।
जिल्लाको दक्षिणी गाविस सावाकटहरे–३ की ३१ वर्षीया खुसमायाँ भुजेल बिहीबार साँझ मृत फेला परेकी हुन् ।
शारीरिक रूपमा अपाङ्गता भएकी खुसमायाँ बिहान घाँस काट्न जङ्गल गएको पारिवारिक स्रोतले जनाएको छ ।
बिहान सबेरै उठेर घाँस काट्न भन्दै घरबाट हिँडेकी उनी दिनभर घर नआएपछि खोजी गर्दा नागी भन्ने ठाउँमा मृत फेला परेको स्थानीयले बताए ।
घटनाका बारेमा यकिन जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए ।
खरेलका अनुसार खुसमायाँको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदैछ । रासस