२५ मंसिर– नेकपा एमालेले पोलिट्ब्युरो र स्थायी समिति चयनमा विवाद भएपछि विधानमा रहेको अस्पष्ट व्यवस्था परिवर्तनका लागि भन्दै कार्यदल गठन गरेको छ ।
मुख्यालय बल्खुमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलले प्रतिवेदन बुझाएपछि केन्द्रीय समितिमा छलफल हुने र लगत्तै पोलट्ब्यिुरो, स्थायी समिति चयन तथा कार्यविभाजनको एजेण्डामा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार विधानमा रहेको कमजोरी सच्याएर शुक्रबार प्रतिवेदन दिन कार्यदललाई जिम्मा दिइएको छ ।
बैठकमा सहमति नभए पोलिट्ब्युरो र स्थायी समिति चयनका लागि मतदानमा जाने सहमति भएका अर्का सचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार बैठकले निर्वाचनको तयारीमा जुट्न पार्टीको निर्वाचन आयोगलाई निर्देशन दिइसकिएको छ ।
बैठकमा नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली एकलौटी र निरंकुश शैलीमा अघि बढेको भन्दै प्रस्तुत गरेको सात बुँदे सहमतिपत्रका विषयमा पनि छलफल भएको छ ।
ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यसअघिका केही निर्णय सबैको सल्लाहबिना गरिएकामा माफी माग्दै अब त्यसो नहुने प्रतिबद्धता जनाएका थिए ।
बुधबारको बैठकमा नेता नेपालले ओलीले निरंकुश र एकलकाँटे कार्यशैली नसच्चाए राम्रो नहुने चेतावनी दिएका थिए ।