आफन्तहरुबाटै हुन्छ बाल दुर्व्यवहार 

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते १२:०६ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– बालबालिकासम्बन्धी काम गर्ने विज्ञले नजिकका बालबालिकामाथि उनीहरुकै आफन्तबाट बढी दुर्व्यवहार हुने गरेको बताएका छन् ।

Bal durbyabahar
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) लगायत संस्थाले आज यहाँ आयोजना गरेको ‘अनाथालयमा गर्ने स्वयम् सेवासम्बन्धी सम्मेलन’मा वक्ताले बालबालिकामाथि नियतवश र अञ्जानमा नजिकका आफन्तबाटै बढी शोषण र दुर्व्यवहार हुने गरेको बताएका हुन् ।

कार्यक्रममा युनिसेफका नेपालस्थित प्रमुख तोमु होजुमीले बालबालिकाका क्षेत्रमा काम गर्दा जहिले पनि यो वा त्यो नभनीकन बालबालिकाको इच्छा र उनीहरुलाई सहज हुने काम मात्र गर्नुपर्ने बताए ।

व्यवस्थापिका–संसद्, महिला तथा बालबालिका समितिका सभापति रञ्जु ठाकुरले अब बन्ने संविधानमा बालअधिकारको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिने आश्वासन दिइन् । महिला तथा बालबालिका विभागका महानिर्देशक कृष्णचन्द्र पौडेलले अधिकांश बालबालिका नजिकका आफन्तबाट र कतिपय अवस्थामा बालबालिकाको क्षेत्रमा काम गर्ने स्वयम्सेवीबाट समेत दुव्र्यवहारको सिकार हुने गरेको बताए ।

कार्यक्रममा नेक्स्ट जेनेरेसन नेपालका नेपाल प्रमुख मार्टिन पुनक्सले नेपालका बालगृह र अनाथालयमा रहेका बालबालिकाको वर्तमान अवस्था र यस क्षेत्रमा भइरहेको स्वम्सेवाका सम्बन्धको प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यस्तै ‘बेटर भोलुन्टरिङ बेटर केयर प्रोजेक्ट’का अन्ना म्याकेनले अनाथालयमा गरिने स्वयम्सेवाका सम्बन्धमा विश्वमा देखिएका अवधारणाबारे तथा युनिसेफका बाल संरक्षण परामर्शदाता मेगन जोन्सले नेपालमा यस सम्बन्धमा अनुसन्धानका क्रममा देखिएका परिणामका बारेमा बताएका थिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us