काठमाण्डु, २४ मंसिर– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपाल अपराधीहरुको ट्रान्जिट प्वाइन्ट भएको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले नेपाल अन्तर्राष्ट्रिय अपराधीहरुको ट्रान्जिट प्वाइन्ट भएको बताएका हुन् ।
गौतमले अपराधीलाई कानुनी कठघरामा ल्याउन तस्करी र अपराध रोक्नु चुनौती रहेको उल्लेख गरे ।
उनले राष्ट्रबैंकमा चार किलो सुन थन्किएर बसे पनि सुन तस्करी बढिरहेको भन्दै दिनदिनै बढेको सुन तस्करी रोक्न प्रहरीलाई निर्देशन दिए । उनले केही प्रहरी अधिकारी र अपराधीबीच साठगाँठ रहेको चर्चा गर्दै त्यस्ता प्रहरीलाई कार्यालयबाट थुतेर बाहिर निकाल्न निर्देशन दिए ।
‘अपराधीसँग साँठगाँठ गर्नेलाई प्रहरीलाई कार्यालयबाट बाहिर निकाल्नुस’, छेउमै रहेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालतर्फ संकेत गर्दै उनले भने, ‘जसले अपराधीसँग उठबस गर्छ, उसलाई कार्यालयबाट बाहिर निकाल्नुस् ।’
अर्को एक फरक प्रंसंगमा उनले अमेरिकासहित विकसित मुलुकसँग दाँजेर मानवअधिकारको कुरा नगर्न अधिकारर्कीलाई आग्रह गरे ।
उनले अपराधीलाई अनुसन्धानका क्रममा यातना दिने गरिएको भन्दै मानवअधिकारकर्मीको दबाबसँग डराएर अनुसन्धान प्रक्रिया फितलो नपार्न प्रहरी नेतृत्वलाई आग्रह गरे ।