
एजेन्सी– पाकिस्तानमा बालिकाहरुको शिक्षामा काम गरे बापत नोबेल शान्ति पुरस्कार पाएकी मलाला युसुफजाईले आफू भविष्यमा राजनीतिमा लाग्ने र प्रधानमन्त्री बन्ने सपना देखेको बताएकी छिन् । मलालाले बुधबार पुरस्कार ग्रहण गर्दै छिन् ।
बिबिसीसँगको कुराकानीमा मलालाले आफ्नो पढाइ पूरा गरेपछि राजनीतिमा जाने योजना रहेको बताएकी हुन् । पुरस्कार थाप्नुअघि उनले बिबिसीको उर्दु विभागसँग कुरा गरेर यस्तो सपना बताएकी हुन् ।
‘पुरस्कार पाएर म अत्यन्तै खुशी छु, यो पुरस्कार मेरा लागि होइन, मेरो देशका ती सबै बालबच्चाका लागि हो, जसले आफ्नो हकका लागि आवाज उठाएका छन्,’ उनले भनिन् ।
देश विकसित होस् र बच्चाहरुको लागि शिक्षाको राम्रो व्यवस्था होस् भन्ने आफ्नो इच्छा रहेको पनि मलालाले बताएकी छिन् । उनले पश्चिमी देशमा सबै सुविधा भएको र आफ्नो देश पनि त्यस्तै होस् भन्ने आफ्नो कामना रहेको विचार व्यक्त गरेकी छिन् । ‘मेरो सपना यही हो र म त्यसकै लागि काम गर्न चाहन्छु,’ उनले भनेकी छिन् । त्यसका लागि उनले आफूलाई समर्थन गर्न सबैलाई अनुरोध पनि गरेकी छिन् ।