सामुदायिक वनमा भेटियो बेवारिसे शव

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ३:०२ मा प्रकाशित

दाङ, २४ मंसिर– तुलसीपुर नगरपालिका–८ को महालक्ष्मी सामुदायिक वनमा मंगलबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

घाँस काट्न गएका स्थानीयवासीले मंगलबार दिउँसो वनभित्र पुरुषलाई मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पुरुषको शव नग्न अवस्थामा रहेको बताइएको छ ।

मृतकको अझै सनाखत हुन नसकेको र उनको टाउकोमा गहिरो चोट भएकाले हत्या गरी फालिदिएको हुन सक्ने आशंका प्रहरीको छ । शवलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दाङमै एक नवजात शिशु इनारमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार सैघा गाविसमा घर भई हाल घोराही नगरपालिका–६ फुर्सेखालीमा डेरा गरी बस्ने कृष्ण बुढाथोकीको ११ महिनाको छोरा गाउँभन्दा केही टाढा रहेको इनारमा मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार बिहान करिव ८ बजे छोरा हराएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय दाङमा आएको र बच्चाको खोजी गर्ने क्रममा इनारमा मृत अवस्थामा फेला पारिएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us