काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार नसमातेको भन्दै सार्वजनिक रुपमै
असन्तोष व्यक्त गरेका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सरकारी निवास बालुवाटारमा मंगलबार भएको एक कार्यक्रममा उनले टूला भ्रष्टाचारी समात्न अख्तियारलाई आग्रह गरे ।
मुलुकमा भ्रष्टाचारले व्यापक बन्दै गएको भन्दै उनले थप सक्रियता बढाउन अख्तियारलाई भनेका हुन् । तल्लो तहका खरिदार र मुखिया मात्र समातेर नहुने भन्दै उनले ठूलालाई कारबाही नगरेसम्म भ्रष्टाचार निर्मुल नहुने उल्लेख गरे ।
‘अख्तियारले खरिदार र सुब्बा मात्र समातेर हुँदैन’, प्रधानमन्त्रीले भने, ‘खै ठूला भ्रष्टाचारी समातेको ?’
कोइरालाले भारतमा जयललिता, लालु यादव, पिभी नरसिंह रावसहित नेता भ्रष्टाचार कसुरमा जेल जान परेको भन्दै नेपालमा पनि हिम्मत गर्न उनको आग्रह छ ।