काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारले भ्रष्टाचार रोक्ने प्रतिबद्धता गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले कोइराला नेतृत्वकै सरकारका पालामा नेपालमा भ्रष्टाचार बढिरहेको भने पनि कोइरालाले भने आफूले सुशासन प्रवद्र्धनलाई नै प्राथमिकतामा पारेको दाबी गरेका छन् ।

‘वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्णतः प्रतिवद्ध रहेको छ । समाजमा सदाचार प्रवर्धन गर्न सदाचारीहरुको सम्मान गर्ने संस्कृति बसाउन जरुरी छ,’ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले आफ्नै पालामा भ्रष्टाचार बढेको तथ्यलाई लुकाउन खोज्दै ‘भ्रष्ट्राचार नेपालमा नियन्त्रण नभएको सत्य उजागर भइरहेको’ भनेका छन् । उनले आफ्नो प्रधानमन्त्रीकालमा सुशासन प्रवर्धन गरेको दाबी समेत गरेका छन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग, अपराध अनुसन्धान व्यूरो लगायत भ्रष्टाचार रोक्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरुलाई थप सुदृढ र श्रोत साधनले सम्पन्न तुल्याइने प्रतिबद्धता समेत गरेका छन् ।