म्याग्दीको मराङमा प्रसूति केन्द्र स्थापना

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते २:५३ मा प्रकाशित

म्याग्दी, २२ मंसिर– म्याग्दीको दुर्गम मराङमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) स्थापना भएको छ ।

यसअघि प्रसूति सेवाका लागि दरवाङ र सदरमुकाम बेनी पुग्न बाध्य मराङका सर्वसाधारणले अबदेखि गाउँकै स्वास्थ्य संस्थाबाट उक्त सुविधा प्राप्त गर्ने भएका छन् । चालु आर्थिक वर्षबाट स्वास्थ्य चौकीमा स्तरोन्नति भएको चौकीले आइतबारदेखि सुरक्षित प्रसूति सेवा पनि सुरु गरेको अहेव मोहन गर्बुजाले जानकारी दिए ।

उनका अनुसार मराङ–९ की २७ वर्षीया दलमाया गर्बुजाले प्रसूति केन्द्रमा पहिलो पटक छोरा जन्माएकी छिन् । चौकीबाट २४ सै घण्टा प्रसूति सुविधा उपलब्ध रहेको जनाइएको छ ।

प्रसव अवस्थाको जोखिम न्यूनीकरण गर्दै मातृ शिशु मृत्युदर घटाउन म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामध्ये हालसम्म मराङ स्वास्थ्य चौकीसहित २० वटामा २४ सै घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us