यसरी गरे प्रचण्डमाथि धमलाले ‘हमला’

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– ऋषि धमला सहरका अति ‘सक्रिय’ पत्रकार हुन् । यिनको सक्रियताबारे सहरमा खासखुस हुँदैन, बहस–छलफल हुँदैन, बरु चोकचोक र चियापसलहरुमा चुट्किलाजन्य चर्चा र हँसिमजाक हुन्छ । रिपोर्टस क्लब नामको सञ्चारथलो उनैले चलाएका हुन् । उनी त्यसका अध्यक्ष हुन् । उनले नेतादेखि अभिनेतासम्म, शासकदेखि प्रशासकसम्मका व्यक्तिलाई यस क्लबमा सहभागी गराउन सफल छन् । शनिबार उनले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आफ्नो मञ्चमा उभ्याएर पहिलोपटक बोल्न लगाए । स्मरणीय छ, अहिले प्रमुख प्रतिपक्षी नेता रहेका प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सरकारले धमलालाई विभिन्न गैरकानुनी र आपराधिक कार्यमा लागेको आरोपमा गिरफ्तार पनि गरेको थियो । उनै प्रचण्डलाई क्लबमा ल्याउन गरेको प्रयत्नबारे धमलाले ‘काठमाण्डु टुडे’लाई सुनाएको अनुभव उनकै शब्दमा :Rishi Dhamala and Prachanda 1

रिपोर्टस क्लब भनेको सबैको साझा सञ्चार फोरम हो । यहाँ नेपालका सबैजसो नेता गणहरु आउनु भएको छ । भारतीय जनता पार्टीका तत्कालीन अध्यक्ष र अहिलेका गृहमन्त्री राजनाथ सिंहसमेतले बोलेको ठाउँ हो रिपोर्टर्स क्लब । प्रचण्डजी २०६३ असार २ मा पहिलोपटक बालुवाटारमा सार्वजनिक भएदेखि नै मैले उहाँलाई रिपोर्टस क्लबमा ल्याउन खोजेको थिएँ । विभिन्न कारणले उहाँ आउन सक्नुभएको थिएन । तर, मैले निरन्तर प्रयास गरिरहेछ । प्रचण्डलाई क्लबमा ल्याउन मलाई आठ वर्ष लाग्यो । आखिर उहाँ हाम्रो क्लबमा आउनु हाम्रा लागि पनि महत्वपूर्ण कुरा हो । उहाँ यहाँ किन आउनुभयो होला भने यो गणतन्त्रबारेको पहिलो बहस वा छलफल गरेको ठाउँ पनि हो । हामीले २०६२÷०६३ सालको आन्दोलनका बेलामा आन्दोलनकर्मी नेताहरुलाई पनि यसमा बोलाएका हौं । प्रचण्ड संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र ल्याउनका लागि समेत भूमिका खेलेको यस फोरममा आउनुभएको हो ।
मेरो विचारमा प्रचण्ड पूर्वाग्रहभन्दा माथि उठेको नेता हुनुहुन्छ । उहाँले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धेरै सम्मान गर्नुहुन्थ्यो । गिरिजाप्रसादलाई व्यक्तिगत रुपमा भन्दा पनि राष्ट्रिय राजनीतिमा सहमतिको लागि खेलेको भूमिकाले गर्दा उहाँले गिरिजाप्रसाद कोइरालालाई सम्मान गर्नुभएको हो । मेरो विचारमा सहमतिका आधारमा संविधान बनाउने भूमिका खेल्नुभयो भने प्रचण्डले सुशील कोइरालालाई पनि उत्तिकै सम्मान गर्नुहुन्छ । प्रचण्ड आफै पनि देशलाई गणतन्त्रसम्म ल्याउने र सहमतिको राजनीतिलाई यहाँसम्म ल्याउने एकजना राजनेता हुनुहुन्छ । उहाँ मेरा लागि धेरै सम्मानयोग्य नेता हुनुहुन्छ । उहाँलाई क्लबमा ल्याउन मैले धेरै प्रयास गरें । पछिल्लो समयमा पनि बुधबार, बिहीबा र शुक्रबार बिहान तीनपटकसम्म लगातार प्रचण्डकहाँ गएँ । म जाने बेलामा अग्नि सापकोटा, गणेशमान पुन सबै थिए । मैले अनुरोध गरेपछि उहाँ आउन तयार हुनुभयो । प्रचण्डजी देशको शीर्ष नेता हो । मलाई मन पनि पर्छ । अस्तिको दिन बिहान लाजिम्पाट गएर बोलाएपछि उहाँले ‘म जनताको नेता हो, पाँच तारे होटलमा भन्दा त्यहीं बोल्न मज्जा हुन्छ’ भन्नुभयो र सहजै आउनुभयो ।
रिपोर्टस क्लबको उद्घाटन नै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सम्पादक समाजको हलमा आएर गर्नुभएको हो । नेपालका सबै पूर्वप्रधानमन्त्रीहरु हाम्रो क्लबमा आइसक्नुभएको छ । राष्ट्रपति रामवरण यादव पनि राष्ट्रपति हुनुअघि आउनुभएकै हो । उपराष्ट्रपति पनि आउनुभएकै छ । राष्ट्रपतिलाई अहिले भने राष्ट्राध्यक्षको सम्मान राखौं भनेर हामीले बोलाएका छैनौं । तर, उहाँ पहिल्यै आइसक्नुभएको पनि हो । प्रधानमन्त्री पनि धेरै पटक आउनुभएको छ । पार्टी सभापति भएपछि पनि आउनुभएको छ । एमालेका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल सबै आउनुभएको छ ।

प्रचण्ड हाम्रो कार्यक्रममा आएर रिपोर्टर्स क्लबको इतिहास संस्थागत गराउन मद्दत पुग्यो । म प्रचण्डजीप्रति आभारी छु । प्रचण्डमा सरलता र सहजता छ । विषयवस्तुको ज्ञान र समय परिस्थितिअनुसार जनतामा कुरा राख्ने गुण राम्रो छ । प्रचण्डलाई बोलाएपछि मैले धेरैतिरबाट बधाइ पाएको छु । मैले उहाँलाई शान्तिप्रक्रियामा आएपछि नै ल्याउन खोजेको थिएँ । कहिले सभागृह, कहिले सांग्रिला, ¥याडिसन, मल्ल होटलमा कार्यक्रम गरियो । तर रिपोर्टर्स क्लबमा उहाँँ आउनुभएको थिएन । मेरो प्रचण्डलाई ल्याउने रहर थियो । म एउटा कुरा के गर्व मान्छु भने प्रचण्ड सार्वजनिक भएका दिन नेपाल वान टिभीमा राति ठमेलको एक होटलमा गएर मैले नै अन्तर्वार्ता लिएको थिएँ ।
मैले २०६३ सालदेखि यताको आठ वर्षमा प्रचण्डसँग धेरैचोटि भेटेको र कुराकानी गरेको थिएँ । मेरो एउटै रहर उहाँलाई रिपोर्टस क्लबमा ल्याउनु थियो । त्यो रहर पनि अब पूरा भयो ।

Rishi Dhamala and Prachanda

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us