कैलाली, २० मंसिर– गाउँमै प्राथमिक स्वास्थ्यको पर्याप्त सुविधा नभएका बेला विष्णादेवी जोगीको खुब मानसम्मान हुन्थ्यो ।
गाउँघरमा बालबच्चा जन्मँदा जोकोही रातबिरात गरेर विष्णादेवीको आँगनमा पुग्थे । उनी पनि खाना खाइनखाई हतारमै हात पुछ्दै दगुर्थिन् सुत्केरीकोमा ।
उमेरले ५० काटेकी विष्णादेवी मसुरिया–२ कैलाशपुरकी बासिन्दा हुन् । उनी तत्कालीन समयकी सरकारी मान्यता प्राप्त सुडेनी (धाई आमा) थिइन् । उनले आफ्नो सुडेनीकालको यात्रामा सयौँ महिलाको ज्यान बचाइन् । तर आज उनको आफ्नै ज्यान खतरामा छ ।
अहिले पाठेघरमा ट्युमर भएर उनी जीवन र मरणको दोसाँधमा पुग्नुभएको छ । ‘पाठेघरमा ट्युमरसँगै गाँठा परेर सडेको र प्वाल परेको अवस्थामा रहेको डाक्टरले परीक्षण प्रतिवेदनमा उल्लेख गरेका छन्’, उनले भनिन्, ‘अब उपचार कहाँ गएर गर्ने ? के गर्ने ? भेउ नै पाउन सकेकी छैन ।’
भारतका विभिन्न सहरमा गएर अहिलेसम्म एक लाख रूपैयाँ उपचारमा सिध्याएको बताउँदै जोगीले भनिन्, ‘पैसा नभएपछि अहिले घरमै आएर बसेकी छु ।’
आफ्नो यो गति होला भनेर सोच्दै नसोचेको बताउँदै उनले भनिन्, ‘त्यो बेला धेरै सुत्केरीलाई बचाएँ तर, अहिले आपूmलाई बचाउन सकिनँ ।’
श्रीमती बिरामी हुँदा खेतीपातीका साथै परिवार पाल्न समेत गाह्रो हुन थालेको उहाँका पति पालुराम जोगी बताउँछन् । पालुराम र पत्नी विष्णादेवीका कमाइमा १२ जनाको परिवार आश्रित छ ।
पाठेघर सडेर प्वाल पर्दा पेटमा पानी जमिरहने समस्या देखिएको बताउँदै उनले भनिन्, ‘हरेक पन्ध्र दिनमा सुखड बजारस्थित निजी क्लिनिकमा गएर पेटको पानी निकाल्छु ।’ हरेक १५ दिनमा पेटबाट पानी निकाल्दा रु एक हजार ७०० खर्च लाग्ने गरेको उनले बताइन् ।
सुत्केरी गराउँदाका बखत धेरैका गर्भमै मरेका बच्चा निकालेर जीवनदान गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘गरिब र निर्धा सुत्केरीलाई बचाउँदा आनन्द लाग्थ्यो तर, आज आफ्नो पीडा कसैले सुनिदिएको छैन ।’
उनले मसुरियाको १७ वर्षअघिको स्वास्थ्य संस्था सम्झँदै भनिन्, ‘हात काटिँदा औषधिमूलो गर्न त परै जाओस्, टाउको दुख्दा सिटामोलसमेत पाउने स्थिति गाउँमा थिएन, त्यही समयमा सुत्केरीलाई धनगढी, चौमालासम्म पु¥याउनै मुस्किल थियो ।’
सुत्केरी गराउन लैजाँदा बिरामीसँगै आफू पनि धेरैपटक स्वास्थ्य चौकी पुग्नुपरेको उनले बताइन् । । उनी भन्छिन्, ‘सुत्केरीका परिवारले सँगै लैजान्थे, बाटोमा केही गाह्रो नहोस् भनेर ।’
आफ्नो उपचार चितवनमा सम्भव भएको डाक्टरहरूले बताएको सुनाउँदै उनले भनिन्, ‘गाडी भाडा त हुँदैन, उपचार केले गर्ने समस्यामा परेकी छु ।’
भएको १९ कठ्ठा जमिनमध्ये उपचार गर्दा लागेको ऋण तिर्न खेत बन्धकी राखेको पति पालुरामले बताइन् ।
बाँच्ने आशा व्यक्त गर्दै उहाँले भनिन्, ‘उपचार पाएर बाँचेँ भने बाँकी जीवन समाज सेवामै लगाउने थिएँ ।’ रासस