गोरखा पुगेर भट्टराईले भने, ‘अब प्रचण्डले नेतृत्व छाड्नुपर्छ’

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ९:०५ मा प्रकाशित

गोरखा, २० मंसिर– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आसन्न महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाड्नुपर्ने बताएका baburamछन् ।

गृहजिल्ला गोरखाको बाह्रकिलोमा शनिबार भएको पत्रकार भेटघाटमा उनले २०६० सालमा रोल्पाको दुम्लामा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको ‘२१ औं शताब्दीमा जनवादको विकाससम्बन्धी प्रस्ताव लागू गर्नुपर्ने बताएका हुन् ।

उनले उक्त प्रस्तावअनुसार प्रचण्डले पार्टीको मुल नेतृत्व छाड्नुपर्ने तर्क गरे ।  ‘कमरेड प्रचण्ड र मेरोबीचमा लामो छलफलपछि त्यो दस्तावेज पारित गरिएको थियो’, उनले भने ‘हामीले एउटै व्यक्ति आजीवन पदमा रहने प्रणाली हटाउनुपर्छ र एउटै व्यक्तिले सबै पद लिने प्रणालीको पनि अन्त्य गरिनुपर्छ भन्ने प्रस्ताव पारित गरेका थियौं ।’

भट्टराईले छिट्टै महाधिवेशन आयोजना गर्ने र व्यापक छलफल गरेर नेतृत्व हस्तान्तरणको प्रक्रियामा जानुपर्ने उल्लेख गरे । त्यसबारे प्रचण्ड र आफूबीच सैद्धान्तिक सहमति भइसकेको दाबीसमेत उनले गरे । प्रचण्डले राजनीतिक वैचारिक काम गर्नुपर्ने र राज्यका अरु जिम्मेवारी नयाँ नेतृत्वलाई दिनुपर्ने उनले बताए ।
‘निश्चित अवधि पार गरेपछि पुरानो नेतृत्वले वैचारिक–राजनीतिक काम गर्नुपर्छ र सांगठनिक र राज्यका अन्य जिम्मेवारी चाहिँ नयाँ नेतृत्वलाई दिँदै जानुपर्छ भन्ने छ’, भट्टराईले  भने, ‘उहाँ (प्रचण्ड) ले अबको महाधिवेशनपछि वैचारिक–राजनीतिक काममा केन्द्रित हुन्छु र सांगठनिक काम चाहिं नयाँ साथीहरुलाई हस्तान्तरण गर्छु भन्नुभएको छ । त्यसको सबै टुंगो महाधिवेशनले नै लगाउँछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us