कञ्चनपुर, २० मंसिर– कञ्चनपुरको बेलौरी नगरपालिका भुराकोटमा पर्ने पुरैना ताल अतिक्रमणको चपेटामा परेको छ । जैविक विविधताले भरिपूर्ण ३६ बिगाहा क्षेत्रफलमा फैलिएको तालको १० बिगाहा जग्गा अतिक्रमण भएको छ ।
ताल छेउछाउको जग्गामा स्थानीय बासिन्दाले अतिक्रमण गरी खेती गर्न थालेका छन् । ताल छेउको जग्गा अतिक्रमण गरी खेती हुन थालेपछि तालको जैविक विविधता संकटमा परेको छ ।
ताल छेउछाउको जग्गा अतिक्रमण गरी खनजोत सुरु भएपछि तालमा वर्षात्को पानीले माटो तालको सतहमा पुर्याएर पुर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
तालमा पाइने गरेका विभिन्न प्रजातिका माछा, गोही र रैथाने हाँसको अस्तित्व जोखिममा परेको स्थानीय करन रानाले बताए । नगरपालिकालाई तालको संरक्षण गरी अतिक्रमण हटाउनका लागि आग्रह गरिए पनि हालसम्म पहल हुन नसकेको उनले बताए ।