माघ ८ मै संविधान : बाबुराम

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ४:३० मा प्रकाशित

गोरखा, २० मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले माघ ८ मै संविधान घोषण गर्ने सम्भावना नसकिएको बताएका छन् । आफ्नो गृहजिल्ला गोरखा पुगेका बाबुरामले १२ किलोमा आयोजित पत्रकार भेटघाटका क्रममा यस्तो धारणा राखेका हुन् ।

baburam
‘संविधानका मुख्य अन्तर्वस्तु संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका केही कुरामा दलहरुबीच सहमति बनिनसकेकाले ढिलाई भइराखेको छ’, उनले भने, ‘यी विषयमा केही दिन वा हप्ताभित्र सहमति गर्न सकियो भने प्रक्रिया छोट्याएर माघ ८ मा संविधान जारी गर्न अहिले पनि सम्भव छ ।’

भट्टराईले आफ्नो चाहना पनि माघ ८ मै संविधान जारी होस् भन्ने रहेको बताए । माघ ८ मा संविधान घोषणा गर्नका लागि सबै दल गम्भीर भएर लाग्ने हो भने दुई घण्टामै सहमति हुने उनको धारणा थियो ।
२३ गते संविधानसभाको बैठक अगाडि आफूले प्रमुख दलका नेताहरुको सहमति जुटाउने प्रयत्न गर्ने उनले बताए । संविधानसभा भित्र र बाहिरका दलहरुसँग छलफल जारी राख्ने भन्दै सबैले स्वामित्व ग्रहण गर्नसक्ने संविधान जारी गर्नु पर्ने उनको धारणा थियो ।
एकअर्काे प्रसंगमा उनले एमाओवादी अहिले सत्ताको खेलमा नलागेको र अर्को निर्वाचन नहुँदासम्म एमाओवादीले सत्ताको दावी नभएको बताए । उनले कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन र संविधान निर्माणमा लाग्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us