
पोखरा, १७ मंसिर– लुटपाटमा संलग्न पूर्वलडाकुका बयानले संगठित रूपमा आपराधिक सञ्जाल विस्तार हुँदै गएको खुलेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । बैंक लुटपाटमा दुई दिनअगाडि सार्वजनिक भएका पूर्वलडाकुहरू नेकपा–माओवादीका कार्यकर्ता भएको र हाल नेत्रविक्रम चन्द विप्लव को पार्टीमा आबद्ध पाइएका छन् ।
यार्चागुम्बा लुटपाटमा संलग्न पूर्वलडाकुहरू एमाओवादीका केन्द्रीय नेता तथा पूर्वकमान्डर कालीबहादुर खामको सञ्जालमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पश्चिम क्षेत्रमा भएका शृंखलाबद्ध आपराधिक घटनामा लडाकुको संलग्नतापछि प्रहरीले उनको सञ्जालबारे अनुसन्धान गरेको थियो ।
कास्कीका प्रहरी प्रमुख एसपी वसन्त लामा बैंक लुट्ने लडाकु नेकपा माओवादीसँग आबद्ध रहेको बयान दिएको बताए । त्यसैगरी मनाङका प्रहरी प्रमुख डीएसपी राजेन्द्रबाबु रेग्मीले गत साउन १ गते यार्सा लुटपाटमा पक्राउ परेका सबै माओवादीका पूर्वलडाकु रहेको पाइएको बताए । रेग्मीले भने, ‘यिनका नेता खामलाई पनि फरारको सूचीमा राखिएको छ ।’
पोखराको न्यूरोडस्थित यती डेभलपमेन्ट र रौतहटको एसबीआई बैंक लुट्न संलग्न चन्द्रनिगाहपुर–१ का सुशीलकुमार दुलाल, रोल्पा घोडागाउँ–१ का विकल्प भनिने विजय केसी, रुकुम घर भई हाल दाङ बस्ने वसन्त गिरी, सिन्धुली पीपलमाडी–१ का नारायण राई, सल्यानका उज्ज्वल रोकाय क्षेत्री, कुशल तामाङ र विमल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुलालले सशस्त्र द्वन्द्वका बेला भूमिगत भई मेडिकल टिममा काम गरेका थिए । दुलालले आफूहरू नेकपा–माओवादीसँग नजिक रहेको बयान दिएको कास्की प्रहरी प्रमुखले बताए ।
दुलाल समूहले २०७० कात्तिकमा चितवनस्थित नेपाल विद्युत् प्राधिकरणको काउन्टरबाट प्रहरीको नक्कली कार्ड देखाएर १२ लाख रुपैयाँ लुटेको थियो ।
दुलाल समूहमा रहेका विजय केसी लालसलाम नामक चलचित्रका कलाकारसमेत हुन् ।
उनीहरूको समूहमा सेनामा अयोग्य भएका पूर्वलडाकु छन् । केसी चन्द समूहसँग नजिक छन् । दुलालबाट जर्मनीमा बनेको पेस्तोल बरामद भएको छ ।
अन्नपूर्ण पोष्टबाट