वीरेन्द्रनगर, १६ मंसिर– पश्चिम सुर्खेतको रानीघाटबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे १ ज ५७९ नम्बरको जिप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । यात्रु बोकी हिँडेको जिपको टायर फुत्किएर दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते हुनेमा वीरेन्द्रनगर– १८ का प्रेम भारती, वडा नं ४ का बलबहादुर सार्की र धनबहादुर खत्री, वडा नं ३ का गगन दर्लामी, वडा नं ७ का केशरबहादुर डाँगी, वडा नं ५ का प्रेमबहादुर थापा, वडा नं १ का रत्नबहादुर विक, दैलेख– ९ का अमकला विक र हरिहरपुरकी माया विक छन् ।
घाइतेमा पनि चालक रत्नबहादुर विक र प्रेमबहादुर थापा गम्भीर रहेको ट्राफिक प्रहरी हवल्दार प्रविनकुमार थापाले जानकारी दिए । पछिल्लो समय सुर्खेतमा दुर्घटनाका घटना बढेका छन् ।