वीरगञ्ज, १६ मंसिर– एमाले नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक नेतृत्वलाई सहमतिमै संविधान जारी गर्न दिएको सुझावलाई हस्तक्षेप भन्न नमिल्ने बताएका छन् ।
प्रेस चौचारी पर्साले वीरगन्जमा मंगलबार गरेको पत्रकार भेटघाटमा नेपालको अभिव्यक्ति हस्तक्षेप नभई सुझाव मात्र भएको बताए ।
१८ औं सार्क सम्मेलनमा सहभागी हुन आएका मोदीले गत ९ मंसिरमा वीर अस्पताल हातामा निर्मित ट्रमा सेन्टर उदघाटनका बेला संख्याको बलमा संविधान जारी गरिए नेपालको हितमा नहुने भन्दै सहमतिमा अघि बढ्न सुझाएका थिए ।
नेता नेपालले संविधान नेपालीले बनाउने भन्दै मोदीको सुझावबाट कोही आत्तिनु नपर्ने उल्लेख गरे । ‘मोदी आउन वा बाराक ओबामा सबैले मिलरै जानुस् भन्छन्’, नेपालले भने, ‘संविधान कसरी बनाउने भन्ने निर्णय हामीले गर्ने हो ।’
जातीय संघीयताले मुलुकलाई विखण्डनतर्फ लैजाने भन्दै उनले कुनै हालतमा जातीय आधारमा इकाई गठन स्वीकार्य नहुने बताए ।
उनले संघीताबारे काँग्रेससँग मिलेर ल्याएको साझा प्रस्तावबाट एमाले दायाँबायाँ हुन नसक्ने प्रष्ट्याउँदै बरु शासकीय स्वरुप र निर्वाचन प्रणालीमा चलक हुन सक्ने उल्लेख गरे ।
अर्को एक फरक प्रसंगमा उनले एमाओवादी र मधेसी दल डराएका कारण स्थानीय निकायको निर्वाचन अन्यौलमा परेको आरोप लगाए ।