प्रधानमन्त्रीले भने- ‘भीमबहादुरबाट सिकौं’

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १०:२६ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेसका नेता भीमबहादुर तामाङबाट आदर्श र इमानदारिता सिक्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

sushil
नोपाली कांग्रेसका नेता भीमबहादुर तामाङको तेस्रो पुण्यतिथिका अवसरमा नेपाल तामाङ सङ्घले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नेता तामाङले देखाएको आदर्श र इमान्दार राजनीतिको बाटामा हिँड्न समग्र पार्टीपङ्तिलाई निर्देशन दिएका हुन् ।
कांग्रेसका सभापति समेत रहेका कोइरालाले तामाङप्रति सच्चा श्रद्धासुमन व्यक्त गर्न शान्ति र लोकतन्त्रको संस्थागत विकास गर्दै निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कोइरालाले मुलुकका प्राकृतिक स्रोेत साधनको सदुपयोगका लागि आवश्यक पर्ने वैदेशिक लगानीका सम्बन्धमा भएका सन्धिसम्झौतामा हल्लाका भरमा नदीनाला बेचिए भन्ने भ्रममा नपर्न आग्रह गरे ।

सङ्घीयताका सम्बन्धमा आफू कमभन्दा कम प्रदेशको पक्षमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले भने, ‘संसद् भवनसम्म बनाउन नसकिएको अवस्थामा धेरै प्रदेश बनाउँदा मुलुकको अर्थतन्त्रले धान्दैन ।’

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानका संयोजक डा शशाङ्क कोइरालाले तामाङको इमान्दार व्यक्तित्व र आदर्श विचारले पार्टीलाई आजसम्म पनि ऊर्जा दिइरहेको बताए । काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् धनराज गुरुङ, सभासद् दिलमान पाख्रिन, बहादुरसिंह लामा, तारामान गुरुङ, तीर्थ लामा र पुष्पलता लामा एवम् नेता जिपछिरिङ लामा, इन्द्रबहादुर गुरुङ र केवलबहादुर तामाङले तामाङल् देखाएको बाटो पछ्याउनका लागि समयमै लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

नेता तामाङलाई दाहसंस्कार गरिएको स्थान स्वयम्भूमा प्रधानमन्त्री कोइरालाले छ्र्योेर्तेन तथा सालिक शिलान्यास गरे । सो कार्यका लागि जिपछिरिङ लामाले रु दुई लाख ५१ हजार, उत्तरमान लामाले रु एक लाख ५१ हजार, कृष्ण लामा र दिलमान पाख्रिनले जनही रु एक लाख एक हजार, तीर्थ लामाले निर्माणको आवश्यकताअनुसार गिट्टी, विक्रम लामाले रु ५१ हजार बराबरको सिमेन्ट, तारामान गुरुङ र पुष्पलता लामाले जनही रु २१ हजार र गङ्गाराम शर्माले रु पाँच हजार ५५५ सहयोगको घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us