काठमाण्डु, १५ मंसिर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले देशभरि जातीय आगो फैलाइरहेको आरोप लगाएका छन् । उनले पहाड, तराई–पूर्व–पश्चिम सबैतिर जातीय आगो फैलाउने र संविधान बन्न नदिने षड्यन्त्र एमाओवादीले नै गरेका बताउँदै देशलाई जातीय द्वन्द्वबाट बचाउनुपर्ने विचार व्यक्त गरेका हुन् ।

एमालेको राजधानी विशेष समन्वय कमिटीले आज आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निर्माणमा पार्टीको भूमिका’ विषयक अन्तक्र्रियामा बोल्दै अध्यक्ष ओलीले विधि, प्रक्रिया र बहुमतबाट चल्नु हुँदैन भन्ने कुरा आफूले दुनियाँमा कतै नसुनेको बताए । उनले दुईतिहाई वा प्रक्रियाबाट संविधान जारी गर्नु हुँदैन भन्ने मान्यता कानुनसम्मत नभएको जिकिर समेत गरे ।
उनले संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानसभाको आदेशविपरीत समितिको प्रतिवेदन संविधानसभामा पठाउन ढिलाइ गरेकामा विरोध जनाए ।
अध्यक्ष ओलीले आफ्नो कुरा नमानी नहुने र आफूले नमानेसम्म सहमति हुँदैन भन्ने सोच लोकतान्त्रिक होइन भन्दै एमालेको प्रयास माघ ८ गतेभित्रै संविधान जारी गराउन केन्द्रित हुने बताए ।
उनले अघिल्लो संविधानसभामा जस्तो यसपटक आफ्ना सांसद्हरू पार्टीको निर्णय र निर्देशनविपरीत अन्य पार्टीलाई फाइदा पुग्ने गरी हस्ताक्षर गर्दै हिंड्न अधिकार नदिइने बताए ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू जीवनराम श्रेष्ठ, टङ्क कार्की, सुशीला नेपाललगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका सशक्त हुनुपर्नेमा जोड दिएका थिए ।