
काठमाण्डु, १२ मंसिर – सार्क सम्मेलनको दोस्रो दिन रिट्रिटमा धुलिखेल पुगेका राष्ट्र/सरकार प्रमुखहरुले शाहकारी खाना खाएका छन् । खानाका सबै परिकारहरु नेपाली रहेका थिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटरमार्फत रिट्रिट मेनु सार्वजनिक गरेका हुन् । रिट्रट मेनुमा विभिन्न परिकारहरु राखिएको थियो । रातो, सेतो र खैरो तीन थरी अर्गानिक मार्सी चामलको भात नेपाली थाली सेटमा राखिएको थियो ।
रिसोर्टले सार्कका विशिष्ट पाहुनाका लागि बनाएको अलग्गै मेनुमा मासुजन्य कुनै पनि परिकार समावेश थिएन । दिवा भोजको सुरुवात हरियो फलफूलसहितको सलादबाट भएको थियो ।
धुलिखेल पुग्नासाथ सुरुमा भेज म:म खाएका थिए । सलादका रुपमा भने काँक्रो, चिज, एभोकाडोलगायत फलफूल मिलाइएको थियो । थाली सेटको तरकारीमा हरियो गेडागुडी र आलु मिसाइएको तरकारी, तोरी पालुङगोको साग, काउली, फर्सीको तरकारी, च्याउ, पनिरको तरकारी, राजमा, दाल कोफ्ता, कालो दाल थियो ।
सुपमा नेटल एन्ड फेनुग्रिक राखिएको थियो । ‘पूर्ण शाहाकारी खानाको व्यवस्था गरिएको थियो’, होटेलका एक कर्मचारीले भने ।
डेजर्ट भने सम्बन्धित देशकै मिठाई राखिएको थियो । यसमा अफगानिास्तानको बाक्लवा, बंगलादेशी रसवरी, भुटानको दाइची, भारतको गुजराती बसुन्दीसँग जलेबी, माल्दिभ्सको पिरिनी, नेपालको सिकर्नी, पाकिस्तानको शाही टुक्रा र श्रीलंकाको वाटालप्पन थिए ।
कान्तिपुर दैनिकबाट