
वीरगन्ज, ११ मंसिर– राम्रो आम्दानी हुन थालेपछि पर्साका कृषक व्यावसायिक माछापालनतर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा गर्दै आएका धान तथा गहुँखेतीभन्दा ४/५ गुणा बढी आम्दानी हुन थालेपछि पर्साका कृषक यसप्रति आकर्षित भएका हुन् ।
यहाँका कृषकले वार्षिक ३१ करोड ५० लाख रुपैयाँभन्दा बढीको माछा बिक्री गर्ने गरेका छन् । जिल्लामा वार्षिक २ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।
व्यावसायिक माछापालनबाट १ हजार ८ सय २६ मेट्रिक टन र नदीनालाका १ सय २० हेक्टर जलाशय क्षेत्रबाट १ सय ५० मेट्रिक टन माछा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका मत्स्य प्राविधिक दयाराम हरिजनले बताए ।
उनका अनुसार, नदीनालाको जलाशयबाहेक पर्सामा पोखरीको जलक्षेत्र ३ सय ३० हेक्टर पुगेको छ । व्यावसायिक माछापालनबाट औसत प्रतिहेक्टर ५ दशमलव ५३ मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्यांक छ । उन्नत प्रविधिअनुसार माछापालन गर्दा प्रतिकट्ठा ४५ देखि ५० क्विन्टलसम्म माछा उत्पादन गर्न सकिने मत्स्य प्राविधिक हरिजनले बताए ।
जिल्लामा रहु, नैनी, भाकुरा, ग्रासकार्प, कमनकार्प, सिल्भरकार्प र ब्रिगहेड जातका माछा बढी उत्पादन हुने गरेका छन् । यहाँ उत्पादन हुने माछा चितवन, पोखरा र काठमाण्डुका साथै छिमेकी मुलुक भारतको विहार राज्यमा समेत निर्यात हुने गरेको छ ।
पर्सा जिल्लामा हाल ८ सय ३९ वटा पोखरी रहेको अनुमान छ । जिल्लामा झन्डै ९ हजार मेट्रिक टन उन्नत किसिमको माछा उत्पादन हुने गरेको बताइन्छ । रासस