
काठमाण्डु, ५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने डरले वैदेशिक रोजगार विभागअन्तर्गत ४ वटा कार्यलयले फरक पेसा तथा पूर्व श्रमस्वीकृतिअघि भिसामा नेपाली कामदारलाई श्रमस्वीकृति दिन रोक लगाएको छन् ।
विभागअन्तर्गतको काठमाण्डु कार्यलय प्रमुख मधुविलास पण्डितले फरक पेसा र पुन: श्रमस्वीकृतिभन्दा भिसा अघि ल्याउन वैदेशिक रोजगार ऐन २०६४ विपरीत रहेकाले त्यसमा कामदार पठाउन रोक लगाएको बताए ।
ऐनले पूर्व श्रमस्वीकृति जुन कम्पनी, पेसा र मुलुकमा लिएको छ त्योभन्दा फरक नपर्ने गरी अन्तिम श्रमस्वीकृति मात्र दिने व्यवस्था गरेको छ ।
‘सरकारले अर्काे नीतिगत निर्णय नगरेसम्म यस्तोमा अन्तिम श्रमस्वीकृति दिन सकिँदैन’, प्रमुख पण्डितले भने, ‘कानुन विपरीत काम गर्दा हामी कर्मचारी फसिन्छ भन्ने डर भयो ।’
आयोगले विभागका कर्मचारीलाई भ्रष्टचारको अभियोगमा पटक–पटक पक्राउ गर्दै आएको छ भने २२ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भइसकेको छ ।
कारोबार दैनिकबाट