एमाओवादी मोर्चाका मधेसी दलले भने, ‘संविधानका मुद्दामा काँग्रेस–एमालेसँग नजिक छौं’

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते २:४२ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– एमाओवादी गठबन्धनमा रहेका मधेस केन्द्रित दलहरु संविधानका मुद्दामा काँग्रेस–एमालेसँग सकारात्मक देखिएका छन् ।
एमालेसँग बिहीबार सिंहदरबारमा भएको बैठकमा मधेसी नेताले संविधानका अधिकांश विषयमा एमाओवादीभन्दा काँग्रेस–एमालेसँग निकट रहेको धारणा राखेका हुन् ।

बैठकमा मधेसी नेताले संविधानका विषयवस्तुमा ‘चेक लिष्ट’ बनाएर तुलना गर्ने हो भने ७५ प्रतिशतभादा बढी विषय एमालेसँग मिल्ने भन्दै लचिलो धारणा राखेका थिए ।

बैठकमा सहभागी तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले छलफल सकारात्मक भएको जानकारी दिए । ‘एमाले नेताले छलफल गरी साझा धारणा बनाएर जान सक्छौं भन्नुभयो’, त्रिपाठीले भने, ‘संघीयता र निर्वाचन प्रणालीमा केही अन्तर छ, शासकीय स्वरुप, न्यायप्रणालीलगायत लोकतान्त्रका आधारभूत विषयमा हाम्रा समान धारणा छन् ।’

संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संविधान निर्माणका ७५ प्रतशितभन्दा बढी विषयमा एमाले–समेतले ल्याएको साझा धारणा मधेस केन्द्रित दलसँग मिल्ने बताए ।

बैठकमा फोरम लाकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले आफू जीवनभर लोकतन्त्रका लागि लडेकाले लोकतान्त्रिक राजनीतिक प्रणाली बनाउनेबारे आफू काँग्रेस–एमालेसँग निकट रहेको बताएका थिए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us