उदयपुर, ३० कात्तिक – जिल्ला प्रहरी कार्यालय उदयपुरबाट पहाडी गाविस साउने खाँबु क्षेत्रमा गस्तीमा गएर फर्कने क्रममा गए राति प्रहरीको टिपर भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको घटनास्थलमा नै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
सदरमुकाम गाईघाटबाट साँझ ६ बजे पहाडी गाविस साउनेतर्फ गस्तीमा गएको उक्त प्रहरी भ्यान गस्तीबाट फर्कने क्रममा राति ९ बजेतिर साउने वडा नं २ स्थित जितपुरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक डिल्ली चौहानले बताए ।
भ्यान सडकबाट १५ मि तल खस्दा खोटाङ कुभिन्डे घर भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत २२ वर्षीय प्रहरी जवान सरोज राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । घाइते प्रहरीको सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको स्थान सदरमुकामदेखि १८ किमि उत्तर पहाडी क्षेत्रमा पर्छ ।
रासस