प्रचण्डले भने, ‘सुशील र केपी बैठकमा नआएपछि रोल्पा नगएर कता जाने ?’

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १२:२५ मा प्रकाशित

Prachandaधनगढी, २९ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पटकपटक बोलाएको उच्चस्तरीय राजनीतिक समिति बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली नआएपछि आफू रोल्पा गएको बताएका छन् ।
संविधानका विवादमा छलफल गर्न छाडेर रोल्पा गएको भन्दै पार्टीभित्र र बाहिरबाट समेत आलोचना भइरहेका बेला उनले कोइराला र ओलीले बैठक बहिस्कार गरेपछि आफू रोल्पा गएको प्रष्टीकरण दिएका हुन् ।

पहिला बैठकमा आउँछु भनेका कोइराला र ओली बैठकमा नआएकामा उनले आश्चर्य व्यक्त गरे । ‘सुशील र ओलीजी दुवैले पहिला आउँछु भन्नुभयो, तर पछि आउनुभएन’ आफू नेतृत्वको २२ दलीय मोर्चाले कैलालीको धनगढीमा शनिबार गरेको जनसभामा उनले भने, ‘आउँछु भनेर बैठकमा नआएपछि म रोल्पा नगएर कता जाने ?’

उनले अरु दलका नेता अमेरिका, लण्डन र सिंगापुर गएकामा कसैले आलोचना नगर्नेहरुले आफू केही दिन रोल्पा आउँला कोकोहोलो मच्चाएको भन्दै आपत्ति जनाए । के म अमेरिका, लण्डन र सिंगापुर गएर एक डेढ महिनै बसेको हो र ? रोल्पा आफ्नै देशको भूभाग हो ।आफ्नै देशको भूभागमा जाँदा काठमाण्डुमा त्यत्रो कोकोहोलो मच्चाउनुपर्छ ?’

प्रचण्डले काँग्रेस–एमाले विगतका सहमति, सम्झौता र प्रतिबद्धताहरुबाट पछि हटेकाले आफूहरुले दबाब दिएको बताए । उनले काँग्रेस–एमालेले भुल सुधार नगरे सडकबाटै २२ दलले सरकार घोषणा गर्ने चेतावनी दोहोर्‍याए ।

उनले काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको प्रस्तावलाई गधाको टाउमा मान्छे लेखेर टाँसेको संज्ञा दिए । ‘गधाको टाउकोमा मान्छे लेखेर टाँस्दैमा गधा मान्छे हुन सक्दैन’, उनले भने, ‘काँग्रेस–एमालेको सात प्रदेशको प्रस्ताव त्यस्तै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us