परासी, २९ कात्तिक – नारायणी नदीसँगै गण्डक क्षेत्रमा भएको विभिन्न संरचना मर्मत र निर्माणको काम प्रभावकारी नहुँदा निर्माण पूरा भएको दुई महिनापछि नै भत्किएका छन् ।
भारत सरकारको लगानीमा गण्डक क्षेत्रमा ब्लक, स्पर निर्माण तथा मर्मतका काम भएको भए पनि सो काम प्रभावकारी नहँुदा निर्माण पूरा भएको दुई महिनामा भत्किएका हुन् ।
हालैमात्र गण्डक क्षेत्रमा भारतीय एक अर्बको लगानीमा गण्डक क्षेत्रमा बाँध, स्पर मर्मत, सम्भार साथै ब्लक निर्माणको काम भएको थियो । तर काम प्रभावकारी नहुँदा ब्लकसमेत भत्किएको कामको अनुगमन गर्ने मुख्य नेपाली निकाय पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर ईश्वर ढकालले जानकारी दिए ।
अहिले काम गुणस्तरहीन हुँदा निर्माण भएको थैरै समयमा पनि ब्लक भत्किन थालेका छन् । भारतले वर्षाको समयमा मात्र काम थालनी गर्ने भएकाले काम प्रभावकारी नहुने भएको हो ।
प्रत्येक वर्ष भारतले गण्डक सम्झौताअनुसार नवलपरासीको गण्डक क्षेत्रमा बर्सेनि अर्बौं रुपैयाँको लगानीमा विभिन्न बाँध, स्परहरुको मर्मत सम्भार साथै नयाँ निर्माणको काम गर्दै आएको छ ।
तर सो काम भारतले सधैँ गुणस्तरहीन गर्ने गरेका कारण प्रत्येक वर्ष गण्डक क्षेत्रमा अर्बौंको लगानी गुणस्तरहीन भएकै कारण निर्माणको कामले खासै प्रभावकारिता पाएको छैन । रासस