नियमअनुसार गाडी चलाऊ भन्दा बाटैमा गाडी तेस्र्याए

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ८:५७ मा प्रकाशित

इलाम, २९ कात्तिक – मेची राजमार्ग र जिल्लाका कच्ची सडकमा नियम विपरीत सञ्चालन भएका सवारी साधनलाई स्थानीय प्रशासनले कारबाही गर्ने भनेपछि यातायात व्यवसायीहरूले त्यसको विरोधमा शनिबारदेखि यातायात अवरुद्ध पारेका छन् ।

बीस वर्षे पुराना गाडीलाई विस्थापन गर्ने, रुट परमिटबिना सञ्चालन भइरहेका, इञ्जिन र चेसिस नम्बर नमिलेका गाडीलाई प्रशासनले सञ्चालनमा रोक लगाउने बताएपछि व्यवसायीले यातायात ठप्प पारेका हुन् ।

छिटफुटबाहेक मेची राजमार्ग भएर झापा, पाँचथर, ताप्लेजुङ तथा जिल्लाका ग्रामीण भेगतर्फ जाने लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

अचानक गरिएको बन्दका कारण बिहानै यात्रामा निस्किएका यात्रुहरू अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाममा बिहीबार यातायात व्यवसायी, प्रशासन, ट्राफिक प्रहरी, यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख एवम् प्रतिनिधिसहितको छलफलमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले नियम सङ्गत सञ्चालन नभएका सवारी साधनलाई कडाईका साथ कारबाही गरिने बताएका थिए । प्रजिअको उक्त भनाइप्रति असहमति जनाउँदै यातायात व्यवसायीले यातायात सञ्चालन नगरेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us