ज्येष्ठ नागरिकलाई लौरो उपहार

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ३:१० मा प्रकाशित

नुवाकोट, २९ कात्तिक– मदानपुर गाविसको कार्यालयले गाविसका १८ ज्येष्ठ नागरिकलाई शुक्रबार सम्मान गरेको छ । मदानपुर गाविसको बाराहीमा आयोजित कार्यक्रममा गााविसका ९ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । गाविसभरिका सबैभन्दा बृद्ध मदानपुर–१ घलेगाउँका १०१ वर्षीय भूपालबहादुर गुरुङ र सबैभन्दा बृद्धा वडा नं ६ की ९८ वर्षीया लक्ष्मीकुमारी रैलासहितका बृद्धबृद्धालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिविसका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान पत्र र जनही १ हजार रुपैयाँ प्रदान गरे भने स्थानीय समाजसेवी नवराज पाण्डेले एक–एक थान आधुनिक किसिमको लौरो प्रदान गरेका थिए ।

गाविस सचिव जगन्नाथ कार्कीको सभापतित्वमा भएको कार्यक्रममा मदानपुर गाविसमा गत वर्षको प्रवेशिका परीक्षामा उत्कष्ट हुने शक्ति उच्च माविका माधव पाण्डे, संगीता पाण्डे र सुनिता तामाङ, सूर्यमती उच्च माविका सम्झना नेपाली र नारायणप्रसाद पाण्डे र भृकुटी माविका कृष्णप्रसाद सिलवाललाई नगदसहित सम्मान गरिएको थियो ।

सो अवसरमा जिविसका कार्यक्रम अधिकृत  रिमालले ज्येष्ठ नागरिक समाजको अनुभवको खानी भएकाले उनीहरुको अनुभवबाट अहिलेको पुस्ताले धेरै ज्ञान लिन सक्ने बताउँदै तिनलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us