काठमाण्डु, २९ कात्तिक– तपाईं सार्वजनिक सवारीमा यात्रा गर्नुस, किनमेलेका लागि बजार जानुस्, विदेश जान लागेका युवासँग कुरा गर्नुस् । सबैतिर राजनीतिक दलका नेतालाई गाली मात्र गरेको सुनिन्छ ।
सबैको निष्कर्ष एउटै हुन्छ कि मुलुकमा बेथिति, अराजकता र अस्तव्यस्तता बढ्नु, स्वदेशमा रोजगारीको अवसर नहुनु, गरिबी बढ्नु आदिको कारण दलहरु हुन् । तर, नेपालमा नाम चलेका एक गीतकार भने नेतालाई गाली गर्दैमा मुलुक नबन्ने तर्क मात्र गर्दैनन्, त्यही भावको गीतसमेत लेखेका छन् । उनको भनाइमा देश बनाउने काम नेताहरुको मात्र होइन र बिगार्ने पनि ।
मुलुक बिग्रेकामा उनको असहमति होइन । तर बिगार्नमा जनता पनि उत्तिकै दोषी छन् भन्छन्, चर्चित गीतकार एकनारायण भण्डारी । विगत १२ वर्षदेखि लोक र आधुनिक गीत लेखनमा व्यस्त भण्डारीका ४ सय बढी गीत रेकर्ड भइसकेका छन् ।
उनका तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ, लालुपाते नुध्यो भुइँतिर, जिम्लबाको आँगनीमा नारायण पूजा लाको, फूलमा मौरी डुल्ने बेलैमा, मायाँ गर्छु भन्नेले मायाँ देखाइदेऊ, मेरो मनैको फूल टिपी, तिम्रो मनैमा सिउरिएँ, क्यारुम मार्यो मायाँले, गरिबले गर्ने माया सस्तो हुन्छ र ? धनिले गर्ने माया कस्तो हुन्छ र ? जस्ता दर्जनौं लोकभाका लोकप्रिय छन् ।
उनका गीतका भाका मन नपराउने र एकपटक भए पनि नगुन्गुनाउने सायदै कोही नेपाली होला । उनै भण्डारीले पछिल्लो पटक ‘नेतालाई गाली गर्दैमा नयाँ नेपाल बन्दैन’ बोलको एल्बम तयार पारेका छन् । एल्बमको आज राजधानीमा एक कार्यक्रमबीच एमाले सचिव गोकर्ण विष्ट, काँग्रेस नेता गगन थापा र एमाओवादी नेता देवेन्द्र पौडेलले संयुक्त रुपमा विमोचन गर्ने कार्यक्रम छ ।
नेतालाई गाली गर्न छाडेर समाजका सबै क्षेत्र र पेशामा मानिस जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गरेको खण्डमा नयाँ नेपाल बन्ने विश्वास भण्डारीको छ ।
उनको गीतको सानो अंश यस्तो छ:–
यात्रुलाई कोचीकोची धेरै दु:ख दिनुभएन
कण्डक्टरले तोकेकोभन्दा धेरै भाडा लिनुभएन
यात्रु पनि जोखिम मोली झुण्डिएर हिंड्नुभएन
खराब कुरा बेच्नुभएन, खराब कुरा किन्नुभएन
राम्रो काम गर्नेलाई कसैले केही भन्दैन
नेतालाई गाली गर्दैमा नयाँ नेपाल बन्दैन
एल्मब बिमोचनको तयारीमा व्यस्त रहेका बेला भेटिएका भण्डारीले नेतालाई लागी गर्न छाडेर आफ्नो काम गर्ने हो भने नयाँ नेपाल बन्न धेरै समय नलाग्ने दाबी गरे । उनले बारीमा एक पोटी लसुन उमारेर नखानेहरुले सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल र शेरबहादुर देउवाहरुको विरोध गर्नुको औचित्य नरहेको बताए । ‘आफू सिन्को नभाँच्ने अनि नेतालाई लागी गर्ने प्रवृत्तिले नयाँ नेपाल बन्दैन’, भण्डारी भन्छन्, ‘सबैले आफ्नो क्षेत्रमा इमान्दार भएर काम गरौं नयाँ नेपाल बन्न बेरै लाग्दैन ।’
गीतमा भण्डारी सबैलाई इमान्दार बन्न यसरी आग्रह गर्छन्:–
क्रिकेट खेल्ने खेलाडीले चौका–छक्का हान्नुपर्यो
फुटबल खेल्ने फुटबलरले गोल छिराउन जान्नुपर्यो
गीत गाउने गायकले राम्रो गीत गाउनुपर्यो
मायाँ–प्रिती लाउँनेले नि चोखो मायाँ लाउनुपर्यो ।
राम्रो काम गर्नेलाई कसैले केही भन्दैन
नेतालाई गाली गर्दैमा नयाँ नेपाल बन्दैन