काठमाण्डु, २८ कात्तिक – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुलाई संवाद समितिमा आफ्नै सभापति राख्न र आफूखुशी निर्णय गर्न चुनौती दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संवैधानिक तथा राजनीतिक संवाद समितिको बैठकमा प्रचण्डले सहमतिमा जान कांग्रेस एमाले तयार नहुने हो भने देश गम्भीर द्वन्द्वमा जाने चेतावनी समेत दिए ।

‘जतिजति छलफल हुन्छ, उतिउति सहमति नहोला नहोला जस्तो भएको छ,’ संवाद समितिको बैठकबाट निस्कँदै प्रचण्डले भने, ‘पाँच पाँच वर्षसम्म संविधान बनेन, अहिले छलफलका लागि पाँच दिनको समय लिऊँ भन्दा पनि उहाँहरु (कांग्रेस एमाले) मान्नुहुन्न । त्यस्तो हो भने संवाद समितिको सभापति पनि बाबुरामजीलाई हटाइदिनुस्, आफ्नै सभापति राख्नुस्, आफूखुशी गर्नुस्, त्यसदिनदेखि देश द्वन्द्वमा जान्छ ।’
प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका प्रचण्डले प्रस्तावलाई प्रक्रियामा लैजान पनि र अन्तर्वस्तुमा छलफल गर्न पनि कांग्रेस एमालेका नेताहरु तयार नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले बोलाएपछि म मेरो कार्यक्रम छोटाएर आएँ, सहमतिमा पुगौं भनेर बैठक बसिएको हो, उहाँहरु सहमतिमा जान होइन, देशलाई दुर्घटनामा लैजान चाहनुहुन्छ भन्ने देखिन्छ ।’
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने माओवादीले नै संविधान बनाउन नचाहेको बताएका छन् । ‘उहाँहरु पाँच दिन समय थपौं भन्नुहुन्छ, पाँच दिन थप्ने हो भने माघ आठमा संविधान बन्दैन । माघ आठमा बनेन भने कहिले बन्छ, त्यो पनि थाहा छैन,’ पौडेलले भने । उनले माओवादीको आशय नै संविधान नबनाउने भएको दोहोर्याए ।
राप्रपाका प्रवक्ता दिलनाथ गिरीले संवाद समितिमा संविधान नबनाउने गरी छलफल भइरहेको प्रतिक्रिया दिए । बैठकमा सहभागी प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बैठकबाट निस्किसकेका छन् ।
बैठकमा काग्रेस एमाले र माअाेवादी नेताबीच चर्काचर्की भएकाे थियाे । सिंहदरबारमा बैठक जारी छ ।