काठमाण्डु, २८ कात्तिक– प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको तीन प्रमुख दलहरुको बैठकबाट दलहरु झन् टाढिएका छन् । बैठकमा दलहरुले आ–आफ्ना अडान प्रस्तुत गरेका थिए ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालले आफूहरुको सात प्रदेशको प्रस्ताव संविधान सभामा लैजान दिन एमाओवादीलाई आग्रह गरेका थिए भने प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)ले संवाद समितिको बैठकलाई ४–५ दिन रोकेर सहमतिमा पुग्ने वातावरण बनाउन अनुरोध गरेको थियो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, ‘हामीले हाम्रो प्रस्तावलाई जस्ताको तस्तै संविधान सभामा छलफलमा लैजाऊँ भनेर अनुरोध गर्यौं तर उहाँहरु (एमाओवादी नेताहरु) मान्नुभएन । कुनै सहमति भएको छैन ।’
पौडेलले एमाओवादी संविधान सभाभित्र छलफलमा जान तयार नदेखिएको समेत टिप्पणी गरे । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने कांग्रेस एमालेले संविधान निर्माणमा सहमतिमा गर्नै नखोजेको आरोप लगाए । ‘कांग्रेस एमालेको कुरा सुन्दा संविधान नबन्ने हो कि जस्तो गम्भीर आशंका जन्मिएको छ,’ श्रेष्ठले भने, ‘हामीले सहमतिमा पुग्नका लागि पाँच दिन संवाद समितिको बैठक स्थगित गरेर छलफल गरौं भन्ने प्रस्ताव गरेका थियौं तर उहाँहरु जसरी पनि दुईतिहाइबाट संविधान जारी गर्ने मनस्थितिमा पुगेको जस्तो देखिन्थ्यो ।’
कांग्रेस एमालेले आफूहरुको प्रस्ताव जसरी पनि संविधान सभाभित्र लग्ने र निर्वाचनबाट पास गर्ने सोचेको श्रेष्ठले बताए । उनले बरु छलफल कांग्रेस एमालेकै प्रस्तावमा पनि गर्न सकिने भनेर आफूहरु लचक समेत भएको जिकिर गरे ।
एमाले उपाध्यक्ष भीम रावलले सहमतिका लागि अरु थुप्रै चरण पार गर्नुपर्ने र त्यसका लागि कांग्रेस एमालेको प्रस्तावलाई संवाद समितिमा राखिराखेर नहुने भन्दै एमाओवादीको संवाद समितिमै छलफल गर्ने प्रस्तावको आलोचना गरे । ‘पहिले जस्तै फेरि पनि सहमतिको नाममा संविधान सभा विघटनको दिशामा जाने त होइन भन्ने आशंका पैदा भएको छ,’ रावलले भने, ‘जनमतको कदर नहुन स्थिति आउन दिनु हुँदैन ।’
बैठक बिना सहमति र बिना निष्कर्ष टुंगिएको छ । तीन दलकै बैठकका लागि एमाओवादी अध्यक्ष प्रचण्ड रोल्पाबाट बिहीबार साँझ राजधानी आइपुगेका थिए ।