काठमाण्डु, २८ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कपिलवस्तुमा गरेको आफू पक्षधर कार्यकर्ताको राष्ट्रिय भेलाबारे गृह
मन्त्रालयले चासो राखेको छ ।
गृहले विप्लवसहित सो समूहका नेता कार्यकर्तामाथि निगरानी बढाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बामदेव गौतमको ठाडो आदेशमा प्रहरीले उक्त समूहमाथि निगरानी बढाएको स्रोतले जनाएको छ ।
अध्यक्ष मोहन वैद्यको जनविद्रोहको कार्यदिशा वस्तुवादी नभएको भन्दै सहरी विद्रोहका लागि ‘एकीकृत क्रान्तिको सिद्धान्त’ शीर्षकमा फरक प्रस्ताव अघि सारेका विप्लवले सोही प्रस्तावबारे ‘ब्रिफिङ’ गर्न कपिलवस्तुको
शिवगढी–८ विजगौरीस्थित अनकन्टार जंगलमा बुधबार र बिहीबार दुईदिने राष्ट्रिय भेला बोलाएका थिए । भेलामा विप्लवले आफूसहित केन्द्रीय तहका नेता भूमिगत हुने र जनवर्गीय संगठनले खुला गतिविधि गर्ने प्रस्ताव राखेका थिए ।
गोप्य भेलामा विप्लव, खड्गबहादुर विक र उमा भुजेललगायत ८ केन्द्रीय सदस्यसहित हरेक जिल्लाबाट दुई जनाका दरले सहभागी थिए ।