काठमाण्डु, २८ कात्तिक– प्रेमी दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि चर्चा र विवादमा तानिएकी पूर्वमोडल खुश्बु ओलीले आफू नेपाल
नर्फेकेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चार माध्यमलाई खुला पत्र लेख्दै खुश्बुले आफू लण्डनमै रहेको बताएकी छन् ।
केही समयअघि बेलायतले उनको पर्यटक भिसालाई विद्यार्थी भिसामा बदल्न अस्वीकार गरेको थियो । त्यही विषयमा केही सञ्चार माध्यमले भिसा परिवर्तन नभएपछि खुश्बु नेपाल आएको भन्दै समाचार सम्प्रेषण गरेका थिए ।
उनले बेलायतको कानुनविपरीत समाचार लेख्ने पत्रकारलाई कानुनी कठघरामा उभ्याने धम्कीसमेत दिएकी छन् । उनले बेलायती कानुनको पालना गरेर पत्रकारिता गर्न पनि सुझाव दिएकी छन् । ‘समाचार ममाथि केन्द्रित गरेर लेखिएको गलत समाचारले आफूलाई बदनाम गराएको महसुस मैले गरेको गरेकी छु’, बेलायती काननुको पालना गरेर समाचार लेख्न आग्रह गर्छु ।’
समाचारले आफ्नो मान मर्दन गरेको भन्दै उनले बेलायती कानुनअनुसार समाचार लेख्ने पत्रकार र सञ्चार माध्यमविरुद्ध मानहानीसम्बन्धी अभियोग लगाउन सक्ने संकेत गरेकी छन् । उनले आफूले बेलायतमा पहिचान बदलेर हिंडेको भन्ने आरोपको पनि खण्डन गरेकी छन् ।
पर्यटक भिसालाई विद्यार्थी भिसामा रुपान्तरण गर्न नमिल्ने बारेमा आफू जानकार रहेको दाबी खुश्बुको छ ।
पत्रमा खुश्बुले आफ्नो सम्पत्ति सरकारले छानबिन नगरेको दाबी गर्दै छानबिन गर्न चाहे सहयोग गर्ने उदघोष समेत गरेकी छन् । खुश्बुले आफू बेलायतबाट पिएचडी गर्ने तयारीमा रहेको दाबी गरेकी छन् ।