काठमाण्डु, २७ कात्तिक– एकीकृत नेकपा (माओवादी)का उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बिहीबार दिउँसो संयुक्त पत्रकार भेटघाट गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिबाट भागेर रोल्पा नगएको बताएका छन् ।
संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति समेत रहेका भट्टराईको निवास सानेपामा भएको भेटघाटमा उनीहरुले एमाओवादी अहिले पनि सहमतिका लागि संवाद गर्न तयार भएको जानकारी गराएका हुन् । संविधानका विवादित विषयमा प्रस्ताव दर्ता गर्ने भए संविधानसभामै लैजान उनीहरुले कांग्रेस एमालेलाई चुनौती समेत दिएका छन् ।
‘संवाद समिति प्रस्ताव गर्ने थलो होइन, साँच्चै प्रस्तावा दर्ता गर्ने हो भने संविधानसभा छँदैछ,’ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘प्रचण्ड रोल्पा गएकोलाई कांग्रेस एमालेले एमाओवादी वार्ताबाट भागेको भनेर प्रचार गरिरहेको छ । त्यो सरासर गलत हो ।’
प्रचण्डको अनुपस्थितिमा कांग्रेस–एमाले लगायतका सत्तारुढ दलहरुले एमाओवादीलाई संविधान निर्माणको प्रक्रियामा आउन दबाब दिइरहेका बेला दुई जना नेताले पत्रकारमार्फत् आफ्ना धारणा प्रस्तुत गरेका हुन् ।
रोल्पा पुगेका अध्यक्ष प्रचण्ड भने बिहीबार साँझै काठमाण्डु फर्कने कार्यक्रम रहेको बताइएको छ ।
विवादित विषयमा केही दिनदेखि प्रमुख तीन दलबीच संयुक्त छलफल हुन सकेको छैन । कांग्रेस–एमालेले सात प्रदेशको संयुक्त प्रस्ताव ल्याएपछि एमाओवादीलगायत प्रतिपक्षी २२ दल रुष्ट छन् ।