प्रधानमन्त्री र भारतीय मन्त्री नितिन गडकरीबीच भेटवार्ता

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ७:२२ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका भारतका राजमार्ग तथा सडक यातायात मन्त्री नितिन गडकरीले आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

Baluwatarभेटमा नेपाल भारत सम्बन्ध, पूर्वाधार विकासमा भारतको अनुभव, नेपालको संविधान निर्माण प्रकृया र नेपाल भारत विकास सहयोगका सम्बन्धमा कुराकानी भएको थियो ।

भेटका अवसरमा भारतीय मन्त्री गडकरीले राजनीतिक व्यस्तताको बाबजूद पनि भेटघाटको समय दिएकोमा प्रधानमन्त्रीप्रति कृतज्ञता प्रकट गर्दै प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपालले निर्धारित समयमा प्रजातान्त्रिक संविधान पाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले प्रजातन्त्रको स्थापना,पुनस्थापना र यसको संस्थागत विकासको संघर्षमा नै ६ दशक समय विताउन परेकोले विकासतर्फ ध्यानै दिन नपाएको बताए ।

उनले विकासको निमित्त प्रजातन्त्रिक बातावरणमा शान्ति र स्थायित्व आवश्यक भएको र गत बर्ष सम्पन्न संविधानसभाको निर्वाचन पछि त्यस्तो अनुकूल अवस्था सिर्जना भएको बताए । उनले संविधान निर्माणलाई प्राथमिकतामा राख्दा राख्दै पनि वर्तमान सरकार मुलुकमा शान्ति र स्थायित्व कायम गरी विकासको बातावरण बनाउन सफल भएको बताए ।

प्रधानमन्त्री कोइरालाले नेपालमा अब विकासको द्वार खुलेको पनि अवगत गराए । नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार संझौता र भारतीय कम्पनी जीएमआरसंग भएको परियोजना विकास संझौताको उल्लेख गर्दै प्रधानमन्त्रीले विद्युतमा लगानीको अवसर सिर्जना भएको बताए ।

भेटमा भारतीय मन्त्री गडकरीले निर्धारित समयमा संविधान निर्माण गर्ने सफलता मिलोस् भन्दै नेपालको शान्ति,स्थायित्व र विकासमा भारतको सदा सहयोग र समर्थन रहने शुभकामना व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us