रौतहट, २६ कात्तिक – जिल्ला वन कार्यालय रौतहटले चुरे तथा वन क्षेत्रमा अव्यवस्थित रुपमा बसोवास गर्दै आएका व्यक्तिलाई जाँचबुझ नै नगरी सम्बन्धित गाविस तथा चन्द्रपुर नगरपालिकालाई सुकुम्बासी प्रमाणित नगर्न अनुरोध गरेको छ ।
रौतहटको चुरे क्षेत्र तथा जङ्गल क्षेत्रमा अव्यवस्थित रुपमा बसोवास गर्दै आएका व्यक्तिलाई जाँचबुझ नै नगरी विभिन्न गाउँ विकास समिति तथा चन्द्रपुर नगरपालिकाले सुकुम्बासी भनी आवेदन प्रमाणित गर्दै आएकोप्रति विशेष ध्यानाकर्षण भएको वन कार्यालय रौतहटले जनाएको छ ।
सुकुम्बासी समस्या समाधान आयोगले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्नेलाई जग्गा प्राप्तिका लागि आवेदन माग गरेपछि चुरे क्षेत्र आसपास र वन क्षेत्रमा अव्यवस्थित रुपमा बसोवास गरेकालाई समेत सुकुम्बासीको सिफारिस गरेकोप्रति आफ्नो कार्यालयको गम्भीर ध्यानाकर्षण भएको वन कार्यालयका प्रमुख बाबुराम भण्डारीले बताए ।
यसैगरी वन क्षेत्र अतिक्रमण गरी बसोवास गर्दै आएका व्यक्तिको समेत आवेदन प्रमाणित गर्ने कार्य चन्द्रपुर नगरपालिका तथा सम्बन्धित् अन्य गाविसले गरेको भन्दै सो कार्य अबिलम्व बन्द गर्न पनि जिल्ला वन कार्यालय रौतहटले अनुरोध गरेको छ ।
चुरे क्षेत्र आसपास तथा वन क्षेत्रमा बसोवास गरेका व्यक्तिलाई नगरपालिका तथा सम्बन्धित गाविसले सुकुम्बासीको सिफारिस दिएको भन्दै चुरे क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा सुकुम्बासीको सिफारिस नगर्न पनि सो कार्यालयले अनुरोध गरेको छ । तर चन्द्रपुर नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत पदमबहादुर कार्कीले त्यसरी सिफारिस नगरिएको भन्दै त्यसको छानबिन गर्ने अधिकार सुकुम्बासी समस्या समाधान आयोगलाई मात्र रहेको बताए । रासस