विद्यालय जाने बाटो ढुकेर बलात्कार गर्नेलाई आठ वर्ष कैद

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ६:३२ मा प्रकाशित

इलाम, २६ कात्तिक – विद्यालय जाँदै गरेकी छात्रालाई बाटो ढुकेर बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम नगरपालिका–९ पिपलबोटेका सुदीप निरौलालाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले निरौलालाई जबर्जस्ती करणी १ नम्बर र ३ महलको (४) बमोजिम मङ्गलबार कैद सजाय सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिए ।

गत असोज ८ गते निरौलाले छात्रालाई बलात्कार गरेका थिए । पीडित छात्रालाई निरौलाबाट रु दुई लाख क्षतिपूर्ति भराइदिन समेत जिल्ला अदालतले फैसला सुनाएको छ ।

यसैगरी भारतीय रूपैयाँ ठगीमा संलग्न दुईजनालाई जनही चार महिना कैद र रु एक लाख ५६ हजारका दरले जरिमाना सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले भारतको दार्जिलिङका चन्दन तामाङ र सूर्याेदय नगरपालिका–६ का कृष्ण भनिने बुद्धिराज प्रधानलाई कैद र जरिमानाको फैसला सुनाएको हो ।

दार्जिलिङका एक व्यक्तिलाई भारतीय रूपैयाँ सटही गर्दा ठगी गरेको आरोपमा उनीहरूविरुद्ध गत भदौ ३१ गते अदालतमा मुद्दा दायर गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us