
काठमाण्डु, २५ कात्तिक – महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाको टोलीले करिब १० लाख ठगी गरेको कसुरमा मकवानपुरका दिनेश बर्तौलालाई आज (मङगलबार)कोटेश्वरबाट पक्राउ गरेको छ ।
पैँतीस वर्षीय बर्तौलाले भक्तपुर सुडाल गाविस ६ बस्ने केशव तिमिल्सिनालाई राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षकमा जागिर लगाई दिने तथा गोर्खा मनकामना बचत तथा ऋण सहकारीको सेयर किनिदिने, सप्तरङ्गी दोहोरी साँझ कोटेश्वर र कुरियर्समा पार्टनर बनाइदिने भनी विश्वासमा पारी झुक्याई दश लाख २९ हजार ६०० ठगी गरेको प्रहरीले जनाएको छ ।
सो महाशाखाले बर्तौलालाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डु पठाइएको जानकारी दिएको छ । रासस