तनहुँ – साउदी अरबमा मृत्युदण्ड पाएकी तनहुँको शोभा परियारको परिवारलाई दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गर्ने भएको छ ।
गत साउन १९ गते मृत्युदण्ड पाएकी भिमाद – ३ की ३१ वर्षीया शोभा परियारलाई ८ लाख ८ हजार ८८८ सहयोग गर्न लागेको दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष विष्णुसागर धमला विकेले जानकारी दिए ।
सञ्जालमा सङ्कलन भएको उक्त रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिने विकेले बताए ।
उक्त रकम शोभाको ११ वर्षीय नाबालक छोरा दिवस नेपालीको लालनपालन, शिक्षा एवम् स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गर्न लागिएको बताइएको छ ।
साउदीमा दुई वर्षीय एक बालकको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि घरेलु कामदारमा रहेकी शोभाको साउदीमा मृत्युदण्ड दिइएको थियो ।
तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुगेकी शोभाले साउदीका ओसामा विन मइद अल एन्जी नामक बालकलाई चक्कु प्रहार गरी मारेको आरोपमा शोभा दोषी ठहरिएपछि मृत्यु दण्ड सुनाइएको थियो ।
उक्त घटना भएपछि हालसम्म विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगबाट ६ लाख ५० हजार सङ्कलन भइसकेको मृतक शोभाकी बहिनी रेखा परियारले जानकारी दिइन् ।