संघीयतामा जानु घातक : रुसी राजदूत

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते १०:४५ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक – नेपालका लागि रुसका राजदूत डा. सेरेगेई भ्यासिलोभिच भेलिच्किनले यान्त्रिक पहिचानको आधारमा संघीय राज्य बनाउनु घातक हुने बताएका छन् ।

russianबिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत भेलिच्किनले सिमान्तकृत तथा पिछडीएका वर्गहरुलाई मूलधारमा ल्याउन पहिचान आवश्यक भएता पनि पहिचानका आधारहरु प्रयोगात्मक र उपयोगितात्मक हुनुपर्ने धारणा राखेका हुन् ।

साक्षात्कार कार्यक्रममा राजदूत भेलिच्किनले सामाजिक सभ्यता र साँस्कृतिक आकार निर्धारणमा पहिचानको अत्यन्तै महत्वपूर्ण भएपनि यो अतिसंवेदनशील तथा बहुआयामिक समस्याहरु जोडिएको बताएका छन् । उनले भने–‘ पहिचान सम्बन्धि सबै पक्षहरु पहिल्यै नै पहिल्याउन सकिँदैनन् किनकी यो निरन्तर विकसित तथा परिमार्जित हुने गर्दछ , त्यसैले राजनीतिक संवादले यो तथ्यलाई आत्मासाथ गर्दै पहिचाको मुद्दालाई लचिलोका साथ समाधान गर्नुपर्छ ।’

उनले नेपालमा राज्यको पूर्नसंरचना गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने र पहिचान र सामथ्र्यको वारेमा पनि व्यापक छलफल गरेर टुग्याउनुपर्ने सुझाव दिएका छन् ।

यसै सन्दर्भमा उनले रुसको संघियताको उदाहरण दिँदै जनताका अपेक्षाहरुलाई आत्मसाथ गर्न रुसको संविधान, संघिय राज्यका सिमाहरु र ऐन नियमहरु पटक–पटक संशोधन भएको जिकिर गर्दै नेपालले पनि भविष्यका आवाश्यकता र आकांक्षाहरुलाई समय सापेक्ष आत्मसाथ गर्नसक्ने संविधानको निर्माण गर्न सुझाव दिए ।

नेपालवारे आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै राजदुत भेलिच्किनले विगत दुई वर्षयता नेपाली जनता र राजनीतिक दलहरु संविधान निर्माण सँग सम्बन्धित विवादहरु प्रति बढी संवेदनशील र तीनीहरुको निराकरण गर्न अग्रसर रहेको आफूले पाएको बताउँदै नेपालले चाँडै नै नयाँ संविधान पाउने आशा व्यक्त गरे ।

नेपालका राजनीतिक दलहरुले प्रतिबद्धता जाहेर गरे अनुसार नै संविधान जारी होस भन्नेमा आफ्नो पनि चाहना रहेको उनले बताए ।

नेपालमा रुसी लगानीवारे टिप्पणी गर्दै राजदुत भेलिच्किनले केही रुसी व्यापारी तथा लगानीकर्ता नेपालमा लगानी गर्न ईच्छुक रहेको बताउँदै त्यसको लागि नेपालमा राजनीतिक स्थिरता हुनुपर्ने धारणा राखे ।

फरक सन्दर्भमा उनले यही नोभेम्बर महिनाको पहिलो र दास्रो साता  काठमाण्डुमा ‘‘नेपालमा रुसी संस्कृतिका दिनहरु’’ नामक साँस्कृतिक कार्यक्रम गर्ने समेत जानकारी दिएका छन् । उक्त कार्यक्रम नोभेम्बर ४, ६, १२, १७ र १९ गते हुनेछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रमको समउद्घाटन नेपालका उपराष्ट्रपती परमानन्द झाले गर्नुहुने पनि राजदुतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us