म्याग्दी, १२ कात्तिक – चिसो बढेसँगै उपल्लो मुस्ताङका ८ विद्यालयका विद्यार्थी बेँसी झरेका छन् ।
लोमान्थाङ, छोेसेर र छोन्हुप गाविसमा सञ्चालित ती विद्यालयका २०० विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरेका हुन् ।
चिसोका कारण हरेक वर्ष दिव्यदीप मावि छोसेर, राष्ट्रिय निमावि लोमान्थाङ र छोन्हुपमा सञ्चालित सरस्वती प्रावि, दीपविज्ञान प्रावि, भृकुटी प्रावि, जनप्रभात प्रावि, वीरेन्द्र प्रावि र बुद्ध प्राविले पोखराका विभिन्न स्थानमा घुम्ती विद्यालय सञ्चालन गर्दै आएको छ ।
उपल्लो मुस्ताङमा पटक–पटक हिमपातसँगै अत्यधिक चिसो बढेपछि ती विद्यालयका विद्यार्थी बेँसी झरेको जिल्ला शिक्षा कार्यालय मुस्ताङका विद्यालय निरीक्षक मोतीलाल चपाईंले जानकारी दिए । उनका अनुसार, ती विद्यालयले कात्तिक १६ गतेदेखि पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गर्नेछ ।
विद्यार्थी पोखरा झरेसँगै अभिभावक पनि घुम्ती व्यापारका लागि बेँसी झर्ने तयारीमा जुटेका छन् । राष्ट्रिय निमावि लोमान्थाङले पोखरास्थित नागढुङ्गा, दिव्यदीप मावि छोसेरले छोरेपाटन र छोन्हुपका छ वटा प्राविले चिसाखोलामा सामूहिक कक्षा सञ्चालन गर्ने जिल्ला शिक्षा कार्यालयले मुस्ताङले जनाएको छ ।
त्यस्तै, लोमान्थाङ क्षेत्रमा सञ्चालित अन्य दुई वटा गुम्बाले पनि पोखरामै घुम्ती विद्यालय सञ्चालन गर्ने भएको छ । घुम्ती कक्षा सञ्चालनका लागि राष्ट्रिय निमावि र दिव्यदीप माविलाई सरकारले सात लाख बजेट विनियोजन गरे पनि छोन्हुपमा सञ्चालित ६ वटा प्राविलाई भने बजेट व्यवस्था गरिएको छैन ।
चिसो मौसम सुरु भएपछि कात्तिक अन्तिम सातादेखि मुस्ताङका सबै विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस