पोष्टबहादुर बोगटी स्मृति अक्षयकोष स्थापना

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ८:०२ मा प्रकाशित

नुवाकोट, १२ कात्तिक – तुप्चे गाउँ विकास समितिमा क्रियाशील जनजागृत युवा क्लबले एकीकृत माओवादी उपाध्यक्ष स्व पोष्टबहादुर बोगटीको नाममा स्मृति अक्षयकोष स्थापना गरेको छ ।

postbahadur1क्लबका प्रमुख संरक्षक एवम् सल्लाहकार पोष्टबहादुर बोगटीको राष्ट्रिय योगदानलाई सम्मान गर्दै अक्षयकोष स्थापना गरिएको क्लबका अध्यक्ष शिवराम रिजालले जानकारी दिए ।

कोषमा हाल साढे दुई लाख जम्मा भएको छ । हिमालय बैंकमा खाता खोलिएको स्व पोष्टबहादुर बोगटी अक्षयकोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने संस्थाले जनाएको छ । अक्षय कोषबाट नुवाकोट जिल्लामा शिक्षा र खेलकुदमा छात्रवृत्ति प्रदान गरिने तथा प्रतियोगिता सञ्चालन गरिने अवधारणा अघि सारिएको छ ।

नुवाकोट जिल्लाभरिबाट लैङ्गिक समानताका आधारमा कम्तीमा ६ जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ‘प्लस टु’ विज्ञान विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

यस्तै, जिल्ला स्तरीय खुल्ला र उच्च मावि भलिबल प्रतियोगिता सञ्चालन गर्ने, पुस्तकालयलाई सहयोग गर्ने, अस्पताल र सार्वजनिक स्थलमा फर्निचर उपलब्ध गराउनेलगायतका सहयोग अक्षयकोषबाट दिने लक्ष्य राखिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us