जलेको अवस्थामा महिलाको शव फेला

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ६:२३ मा प्रकाशित

रौतहट , १२ कात्तिक – रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको लक्ष्मीनिया गाविस–२ फतुवा हर्साहा जाने बाटोको बाँसघारीमा एक महिलाको शव जलेर क्षतविक्षत अवस्थामा भेटिएकोे इलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रहरी सहायक निरीक्षक तुलसी पौडेलले जानकारी दिए ।

आज बिहान भैँसी चराउन गएका गाउँलेले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकोदेखि घुँडासम्म ठाउँठाउँमा जलेको, देब्रे हात र देब्रे खुट्टा पूरै जलेको तथा अर्धनग्न अवस्थामा अन्दाजी २५ – ३० वर्षकी महिलाको शव भेटिएको प्रहरी सहायक निरीक्षक पौडेलले बताए ।

शवको प्रकृति हेर्दा अन्यत्र जलाएर यहाँ ल्याई फालिएको तथा शव नजिकै एकजोडी चप्पल र मास्क भेटिएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको रौतहट प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us