चितवन, १२ कात्तिक– चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा खटिएको अवस्थामा हत्या भएका निकुञ्ज कर्मचारी शेषचन्द्र चौधरीको परिवारलाई विभिन्न संघसंस्थाले सहयोग जुट्ने क्रम सुरु भएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार हालसम्म तीन लाख छ हजार उनका परिवारलाई हस्तान्तरण गरिसकिएको छ भने सहयोग जुट्ने क्रम जारी छ ।
निकुञ्जका कर्मचारीले एक दिनको तलब बराबरको एक लाख १२ हजार ५ सय ६४ उनको परिवारलाई हस्तान्तरण गरेका छन् । प्रमुख संरक्षण अधिकृत कुँवरका अनुसार विश्व वन्यजन्तु कोष नेपाल कार्यालयमा कार्यरत कर्मचारीले एक दिनको तलब बराबर ९३ हजार ४ सय ९० र जुलोजिकल सोसाइटी अफ लन्डनको नेपाल कार्यक्रमले ५० हजार पीडित परिवारलाई उपलब्ध गराएको छ ।
यसअघि क्रिया खर्चबापत निकुञ्ज प्रशासनले ५० हजार उपलब्ध गराएको थियो । निकुञ्ज प्रशासनले अन्य संघसंस्थासँगसमेत सहयोगको अपिल गरेको छ । सरकारसँ १० लाख राहत रकम उपलब्ध गराउन माग गरिएको उनले बताए ।
निकुञ्ज इतिहासमा संरक्षण कार्यमा खटिएका कर्मचारीको गोली हानी हत्या गरिएको यो पहिलो हो । घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस