काठमाण्डु, १२ कात्तिक– नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुट्नुअघि नेताहरुबीच माघ ८ पछि सत्ता समिकरणको विषयले समेत प्रमुखता पाउँदा निर्णयमा ढिलाइ भएको छ ।
सत्ताको नेतृत्वको विवाद बढ्दा संविधानका विषयमा समेत अलमल भएको बैठकमा सहभागी स्रोतले बतायो । स्रोतका अनुसार कांग्रेस माघ ८ पछि पनि प्रधानमन्त्री नछाड्ने अडानमा छ ।
एमालेले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्रीको रुपमा अनौपचारिक ढंगले लविङ गरिरहेको छ । एमाओवादीले पनि माघ ८ पछि आफ्नो स्पेस दाबी गरिरहेको छ ।
माघ ८ पछि कसले के पाउने भन्नेमा नेताहरुबीच शीर्ष तहमै कुरा हुन थालेको छ । एमाओवादीका एक नेताका अनुसार समीकरणको टुंगो लागे संघीयतामा मतैक्य हुने अवस्थामा दलहरु पुगेका छन् । सुरुमा अनौपचारिक ढंगले हुने त्यस्ता छलफल पछिल्लोपटक भने दुई पक्षीय तहमा औपचारिक रुपमै हुन थालेका छन् ।
खासगरी संविधान जारी भएपछि महत्पूर्ण दुई पद राष्ट्रपति र प्रधानमन्त्री को हुने भन्नेबारे संवाद हुन थालेको हो ।
यसबारे मंगलबार एमाओवादीको स्थायी समिति बैठकमा समेत अध्यक्ष पुष्पकमल दाहालले प्रसंग राखेका थिए । ‘संघीयता र शासकीय स्वरुपका गहन मुद्धालाई सत्ता समीकरणले अल्मलाएको छ’, दाहालले सुनाएका थिए । उनले कांग्रेस र एमाले मिलेर आफूहरुलाई एक्लाउन सक्ने र कुनै पनि महत्वपूर्ण पदमा ‘स्पेस’ नदिने खतरा रहेको समेत ब्रिफिङ गरेको ती नेताले बताए ।
सहमति खोज्न मंगलबार बिहान संवैधानिक राजनीतिक संवाद समिति र बेलुका एमाले र एमाओवादी दुई पक्षीय बैठकसमेत भएको थियो । दुवै बैठक निष्कर्षविहीन बनेका थिए । द्विपक्षीय छलफलमा पनि यसअघि जस्तै नेताहरुले आपसी अडान कायमै राखे ।
संघीयताको बिषयमा एमालेले थोरै प्रदेश बनाउनुपर्ने भन्दै एमाओवादीलाई लचक हुन आग्रह गरेको छ भने एमाओवादी पूरानै अडानमा छ । पहिचान झल्किने खालको नामाकरण हुनुपर्नेमा एमाओवादीका बढ्ता जोड छ ।
बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले कम भन्दा कम प्रदेश बनाउने विषयमा सहमति जुटाउने काम भइरहेको बताएका थिए । ‘कुनै एउटा गाँउमा एउटा जातीको बाहुल्य छैन ।
प्रदेश बनाउँदा यो कुरा ख्याल गर्नुपर्छ भन्ने कुरा छ’, गौतमले भने । एमालेले बढीमा ६–७ प्रदेशसम्म सहमति खोज्न सकिने कुरा गरिरहेको छ । एमाओवादी त्यसमा तयार नहुने हो भने ४ प्रदेशतर्फ फर्किने चेतावनी एमाले नेताहरुले दिइसकेका छन् । दुई दलबीच ठोस सहमति नभए पनि संविधानसभाको कार्यतालिकाभित्रै विवाद मिलाउन प्रयास गर्ने भन्दै नेताहरु उठेका छन् ।
‘विवाद नमिलेकै माघ ८ पछिको पद बाँडफाँड नमिल्नाले हो’, प्रधानमन्त्री सुशील कोइरालानिकट कांग्रेसका एक नेताले भने, ‘नयाँ संविधान आएपछिको राष्ट्रपति र प्रधानमन्त्रीको पद अहिले टुंग्याउनुपर्छ भन्ने भनाइ एमाले र एमाओवादी दुवैको छ ।’
एमाओवादी नेता एवम संवाद समिति सभापति बाबुराम भट्टराईले नेताहरुको व्यक्तिगत आकांक्षा र निजी कुरा सम्बोधन नगरेसम्म संविधान निर्माणमा सहमति बन्न गाह्रो हुने अघिल्लो दिन प्रतिक्रिया दिएका थिए । उनले यो विषयलाई प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीसँगको बेग्लाबेग्लै भेटमा समेत राखेका थिए ।
कान्तिपुर दैनिकबाट