
काठमाण्डु, १२ कात्तिक– नेपाल आयल निगमले पछिल्लो एक महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको छ ।
१६ कात्तिकमा फेरि घटाउने तयारी छ । तर, पनि सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । १५ कात्तिकबाट लागू हुने गरी सरकारले सार्वजनिक सवारीसाधनमा साविकको भाडामा कम्तीमा एक रुपैयाँ बढाउने निर्णय गरिसकेको छ । इन्धनको मूल्य घटिरहेका बेला भाडादर घटाउनुको सट्टा सरकार व्यवसायीको दबाबमा परेर भाडा वृद्धिको निर्णय कार्यान्वयन गर्ने दिन पर्खंदै छ ।
भाडादर पुनर्मूल्याङ्कन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएकाले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले बताए ।
‘सार्वजनिक सवारीसाधनको भाडादर पुनर्मूल्याङ्कन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएको आधारमा आगामी १५ कात्तिकबाट लागू हुने गरी भाडा वृद्धि गर्ने निर्णय भएको छ,’ सोमबार संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा दाहालले भने ।
उनका अनुसार यात्रुबाहक सवारीसाधन (बस, मिनीबस, माइक्रो) मा ५ दशमलब ६३ प्रतिशतका दरले भाडा वृद्धि हुनेछ । नयाँ भाडादरअनुसार चार किलोमिटर वा सोभन्दा कम दूरी यात्रा गर्नेले १६ रुपैयाँ तिर्नुपर्नेछ ।
हाल यो दूरीका लागि १५ रुपैयाँ भाडा तिरे पुग्छ । त्यस्तै, पाँच किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ, आठ किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ तिर्नुपर्नेछ ।
नयाँ पत्रिकाबाट